बेइजिङ्ग– अमेरिकी राष्ट्रपति जो वाइडेनले सत्ता सम्हालेको केही महिना पछि अमेरिका र चीनबीच द्वन्द्व बढ्न थालेको छ । यसैबीच चीनले आफुमाथि अमेरिकाले दमनकारी नीति अपनाएको आरोप लगाएको छ । गत जनवरी २० तारिखदेखि अमेरिकी नेतृत्वमा जो वाइडेन आएपछि चीनसँगको सम्बन्ध सुधार गर्दै जाने अभिव्यक्ति दिएको केही महिना बित्न नपाउँदै अमेरिका र चीनबीच शीत युद्ध चर्कन थालेको छ । राष्ट्रपति बाइडेनले भने चीनमाथि कडा नीतिलाई नै निरन्तरता दिइरहेका छन् । कहिले साइवर आक्रमणको प्रशङ्ग, कहिले कोभिड–१९ को विषय त कहिले आफ्ना अधिकारीहरु माथि अमेरिकाले लगाएको प्रतिवन्धले यी दुई शक्ति राष्ट्रबीच शीत युद्ध हुन थालेको छ ।


चीनको उत्तर–पूर्वी तटीय शहर तियान्जिनमा भएको उच्च तहको वार्तामा अमेरिकाले बेइजिङ्गमाथि दमनकारी नीति अवलम्बन गरेको भन्दै आफ्ना अधिकारीहरुमाथि लगाइएको प्रतिबन्ध तथा उच्च पारिएको सीमा शुल्क हटाउन चीनले वासिङ्गटनलाई सुझाव दिएको छ । सोही क्रममा चिनियाँ विदेश मन्त्री वाङ्ग यीले राम्रो निर्णय गर्ने–नगर्ने अमेरिकाको हातमा रहेको बताएका छन् । अमेरिकाका उप विदेश मन्त्री वेण्डी शर्मनसँगको वार्ताको क्रममा विदेशमन्त्री वाङ्ग यीले आफ्नो प्रष्ट धारणा राखेको बताएका छन् । यता अमेरिकी उप–विदेशमन्त्री शर्मनले भने अमेरिकाको चाहना चीनसँग तनावको सम्बन्ध नचाहेको बताएकी छन् ।

राष्ट्रपति जो वाइडेनले अमेरिकी नेतृत्व सम्हालेपछि केही महिनायता चीनको भ्रमण गर्ने अमेरिकी उप–विदेशमन्त्री शर्मन पहिलो उच्च अधिकारी हुन् । अमेरिका र चीन दुवै देशबीचको सुमधुर सम्बन्ध निकै महत्वपूर्ण रहने भएकोले उनीहरुको सम्बन्धको प्रभाव बिस्तारित विश्वलाई पनि पर्ने हुँदा यो भ्रमणलाई चासोका रुपमा हेरिएको छ ।

मानवअधिकार र प्रतिबन्धका सम्बन्धमा अमेरिकी राष्ट्रपति वाइडेन कडा रुपमा प्रस्तुत हुन थालेका छन् । सोमबार चिनियाँ उप विदेश मन्त्री सी फेङ्गले अमेरिकाले चीनलाई ‘राक्षसीकरण’ गरेको र यसको कारण चीनलाई ‘शत्रुको रुपमा परिकल्पना’ गरिरहेको आरोप लगाएका छन् । हिजो सोमबार भएको वार्तापछि अमेरिकी उप–विदेशमन्त्री शर्मनले चीनसँग आगामी महिनाहरुमा सम्बन्ध सुधार हुनेछ भन्न कठिन रहेको समेत बताएकी छन् । उप–विदेशमन्त्री शर्मनको यो भनाइलाई आधार मान्ने हो भने पनि चीन र अमेरिकाबीचको सम्बन्ध आगामी दिनमा त्यति सुमधुर हुने अवस्था देखिंदैन ।