वरिष्ठ सुरुवा रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना भाइरसको महामारीका सम्बन्धमा अमेरिका गलत दिशातिर उन्मुख भैरहेको टिप्पणी गरेका छन् । कोरोना भाइरस विरुद्धको खोप नलगाएका व्यक्तिमा सङ्क्रमण तथा मृत्युदर बढ्दै गएको प्रति डा. एन्थोनीले यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

कोरोना भाइरस विरुद्धको खोप लगाउनेहरुको सङख्या न्यून रहेको क्षेत्रमा पछिल्लो समयमा डेल्टा भेरियन्टको सङ्क्रमण बढ्दै गएको डा. एन्थोनीले दावि गरेका छन् । कोरोना भाइरसको सङ्क्रमणलाई नियन्त्रण गर्नका लागि खोप लगाएकाहरुले मास्क लगाउने सम्बन्धी निर्देशिकामा परिमार्जन गर्ने बारे स्वास्थ्य अधिकारीहरुबिच कुराकानी भइरहेको डा.एन्थोनी बताएका छन् ।

अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख स्वास्थ्य सल्लाहकार समेत रहेको सुरुवा रोग विशेषज्ञ डा. एन्थोनीले अमेरिकी टेलिभिजन ‘सीएनएन’ सँग गरेको कुराकानीका क्रममा ‘अमेरिकामा कोरोना भाइरसको महामारी खोप नलगाएका व्यक्तिहरुमा छ’ भनेर दावि गरेका छन् । खोपको पूरा डोज लगाएकाहरुलाई खोपको थप अर्थात बुस्टर मात्रा लगाउने सम्बन्धमा पनि छलफल भइरहेको डा. एन्थोनीले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा कुल जनसङख्याको करिव ४९ प्रतिशत मानिसहरुले कोरोना भाइरसविरुद्धको खोपको पूर्ण मात्रा लगाएका आधिकारिक तथ्याङ्क छ । अमेरिकामा गत अप्रिलदेखि खोप लगाउनेहरुको दरमा कमी आउन थालेको छ । समाचारमा जनाइए अनुसार विशेष गरी दक्षिणी अमेरिकी राज्यहरुमा खोप दर कम देखिएको छ । उक्त क्षेत्रमा आधाभन्दा कम मानिसहरुले मात्र खोपको पहिलो मात्रा लगाएका छन् । त्यहाँ सङ्क्रमणको दर बढ्द थालेको जनाइएको छ । गत मे र जुन महिनामा सङक्रमणको दर तल झरेकोमा अहिले फेरि बढ्न थालेको हो ।

अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणबाट हालसम्म तीन करोड ४० लाखभन्दा धेरै मानिसहरु सङ्क्रमित भएका छन् भने सोही कारणबाट ६ लाख १० जनाको मृत्यु भैसकेको छ । पछिल्लो समय डेल्टा भेरियन्टका कारण अहिले सङ्क्रमण बढ्न थालेको समाचारमा जनाइएको छ । अमेरिकाको टेक्सास, फ्लोरिडा र मिजुरीसहितका राज्यहरुमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या निकै कम भएकोले यी राज्यहरुमा कोरोना भाइरसको सङ्क्रमण बढिरहेको छ । अमेरिकाका जर्सन जनरल विवेक मर्थीले कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुने मध्ये ९९.५ प्रतिशत खोप नलगाएका व्यक्तिहरु रहेको बताएका थिए । डा.एन्थोनीका अनुसार खोपको दर कम भएको क्षेत्रका स्थानीय नेताहरुले अहिले काम गर्नु पर्ने छ । अमेरिकामा खोपलाई लिएर फैलाइएका गलत सूचना र राजनीतिकरणका कारण समस्या भइरहेको समाचारमा जनाइएको छ ।