चरिकोट – दोलखामा निर्मित राष्ट्रिय गौरवको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले तेस्रो युनिटबाट पनि विद्युत उत्पादन सुरु गरेको छ । विद्युत उत्पादनको छ वटा युनिट रहेको उक्त आयोजनाले गत असार २१ गते पहिलो युनिटबाट विजुली उत्पादन थालेको थियो । कुल ४५६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको देशकै ठूलोे जलविद्युत आयोजनाको प्रत्येक युनिटबाट ७६ मेगावाट विद्युत उत्पादन गर्ने छ । पहिलो र दोस्रो युनिटबाट परीक्षण उत्पादन सफल भएपछि शुक्रबार रातिदेखि तेस्रो युनिटबाट विद्युत उत्पादन सुरु गरिएको आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभएको हो ।


अहिले यस आयोजनाबाट २२८ मेगावाट विजुली उत्पादन भएको छ । साउन अन्तिम सातासम्म चौथो युनिट पनि सञ्चालन हुनेछ । अहिले विजुली उत्पादन गर्ने टवाइनहरुको परीक्षण गर्दै जाने र अगामी भदौसम्ममा सबै छ वटै युनिटबाट विजुली उत्पादन भैसक्ने आयोजना प्रमुख श्रेष्ठले बताउनु भएको छ । माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट उत्पादित विजुली राष्ट्रिय प्रसारणमा जोडिएको छ । चौथो युनिटबाट विजुलीको परीक्षण उत्पादन सम्पन्न भएपछि ३०४ मेगावाट विजुलीको व्यवसायिक उत्पादन हुने छ भने बाँकी दुई युनिटबाट पनि परीक्षण उत्पादन गरेपछि सबै युनिटबाट विजुलीको व्यवसायिक उतपादन हुनेछ ।


आगामी असोजको दोस्रो हप्तादेखि माथिल्लो तामाकोशी जलविद्युत आयोजनाले पूर्ण क्षमतामा व्यावसायिकरुपमा विद्युत उत्पादन गर्ने आयोजनाले जनाएको छ । आयोजना पूर्ण क्षमतामा सञ्चालनमा आएपछि ४५६ मेगावाट विद्युत उत्पादन हुने छ ।