काबुल– अफगानिस्तानमा रहेका तालिवानी विद्रोहीले देशमा शान्ति स्थापनाको लागि राष्ट्रपति अशरफ घानीले पद त्याग्नु पर्ने र नयाँ सरकार गठन गर्नुपर्ने माग राखेका छन् । तालिवानले आफ्नो चाहना अफगानिस्तानको सत्तामा एकाधिकार नरहेको तर वर्तमान सरकार नहटेसम्म शान्ति कायम भने नहुने तालिबानी प्रवक्ता सुहेल शाहीन बताएका छन् ।

समाचार संस्था एसोसिएटेड प्रेस (एपी) लाई लिएको एक अन्तर्वार्तामा तालिवानमा प्रवक्ता शाहीनले अफगानिस्तानको भविष्यलाई लिएर तालिबानको अडान के हो भन्ने कुरा स्पष्ट पारेका छन् । विभिन्न देशसँग गरिरहेको वार्ताको प्रतिनिधिमण्डलका सदस्य समेत रहेका तालिवानी प्रवक्ता शाहीनले एपीसँग भने, ‘वार्ताको माध्यमबाट सबै पक्षलाई स्वीकार्य हुने सरकार बनाइ वर्तमान राष्ट्रपति अशरफ घानीको सरकार हटेमा मात्रै तालिबानले हतियार बिसाउने छ।’
सोही अन्तर्वार्तामा प्रवक्ता शाहीनले ‘म यो कुरा स्पष्ट गर्न चाहन्छु कि तालिवान सत्तामा एकाधिकार चाहँदैन । किनकी विगतमा जुनै पनि सरकारले सम्पूर्ण शक्ति आफ्नो हातमा लिने प्रयास गरे उनीहरु सबै असफल रहे’ भनेका छन् । शाहीनले विगतमा तालिवान नेतृत्वको सरकारलाई पनि असफल भनेका हुन् । उनले स्पष्ट पार्दै भने, ‘हामी फेरि पनि त्यहि फर्मुला दोहोर्याउन चाहँदैनौं ।’

तालिवानले राष्ट्रपति अशरफ घानीका सम्बन्धमा कुनै पनि सम्झौता नगर्ने पनि स्पष्ट पारेको छ । गत मङ्गलबार बकरीदको अवसरमा राष्ट्रपति घानीले आफ्नो भाषणको क्रममा तालिवानमाथि आक्रमण गर्ने बताएका थिए । त्यसको जवाफमा तालिबानले घानीलाई ‘युद्धका व्यापारी’ को संज्ञा दिएको थियो । अफगानी राष्ट्रपति घानीले देशमा शासन गर्ने अधिकार गुमाइसकेको तालिवान प्रवक्ता शाहीनले बताएका छन् । सन् २०१९ मा भएको चुनावमा घानीले धाँधली गरेर जितेको आरोप पनि तालिवानले लगाउँदै आएको छ । सो चुनावमा घानी र उनका प्रतिस्पर्धी अब्दुल्लाह अब्दुल्लाहले जितको दाबी गरेका थिए । तर दुईबिच सम्झौता भयो र अब्दुल्लाहलाई सरकारमा दोस्रो नम्बरको स्थान दियो र वार्ता समितिका प्रमुख बनाइएको थियो ।

अफगानिस्तानबाट अमेरिकी तथा नेटो सैनिकको अन्तिम समूहहरु फिर्ता हुने क्रम जारी रहँदा तालिबानले आफ्नो पकड विस्तार गर्दै लगेको छ । हालै अमेरिकी सैनिकका उच्च अधिकारी जनरल मार्क मिलीले रक्षा मन्त्रालय पेन्टागनमा भएको पत्रकार सम्मेलनमा तालिवानले रणनीतिक विस्तार हाँसिल गरेको बताएका थिए । तालिवानले अफगानिस्तानमा आफ्नो प्रभाव कायम गर्ने सम्भावना अस्वीकार गर्न नसकिने जनरल मार्क मिलीले बताएका थिए ।
यता एपीसँगको अन्तर्वार्तामा तालिवान प्रवक्ता शाहीनले राष्ट्रपति घानीको राजीनामामा कुनै सम्झौता गर्न नसकिने बताएको छ । तर अमेरिकाले भने आफ्नो समर्थन अफगान राष्ट्रपति घानीलाई नै रहेको स्पष्ट पारेको छ । ह्वाइट हाउस प्रवक्ता जेन शाकीले राष्ट्रपति जो बाइडेनको समर्थन अफगान राष्ट्रपतिलाई रहेको समाचार संस्था एपीलाई बताएकी छन् । दुई दशक अघि अफगानिस्तानमा तालिवानको सत्ता हुँदा शरिया कानून लागु थियो । त्यहाँ छात्राहरुको शिक्षामा प्रतिबन्ध लगाइएको थियो । अफगानिस्तानका धेरै मानिसहरुमा पुनः सोही काल आउने हो कि भनेर चिन्तित रहेको समाचारमा जनाइएको छ ।