काठमाडौं– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सीमासम्बन्धी विवाद कूटनीतिक तवरबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।
बेलौरी नगरपालिकामा शनिबार आयोजित एक छलफल कार्यक्रममा मुख्यमन्त्री भट्टले सीमा क्षेत्रमा देखिने विवादका बारेमा पटक–पटक केन्द्रीय सरकारलाई समाधानका लागि दबाब दिइँदै आएको बताउनु भएको छ । ‘अन्तर्राष्ट्रिय सीमा समस्या हल गर्ने अधिकार प्रदेश सरकारलाई छैन,’ भन्दै मुख्यमन्त्री भट्टले ‘समस्या समाधानका लागि दबाब सिर्जना गर्ने कार्य हुँदै आएको’ बताउनु भएको छ ।
सीमा समस्याबारे केन्द्रीय सरकारलाई सुझाव दिने कार्य हुँदै आएको भन्दै मुख्यमन्त्री भट्टले सीमासम्बन्धी विवाद हुँदा आम नागरिकलाई तनाव हुने गरेको उल्लेख गर्नु हुँदै सीमा क्षेत्रका बासिन्दाले देखाएको राष्ट्रभक्तिले सीमा क्षेत्रको रक्षा भएको धाराणा व्यक्त गर्नुभएको छ । बेलौरीस्थित छोटी भन्सार कार्यालयको स्तरोन्नतिका लागि केन्द्रीय सरकारसमक्ष कुरा राख्ने उहाँले बताउनु भयो ।

यसैबीच, आजै कृष्णपुर नगरपालिका–१ पहरियामा राष्ट्रिय माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री भट्टले सामुदायिक विद्यालयको लगानीअनुरुपको गुणस्तर कायम हुन नसकेकोप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । ‘सरकारी विद्यालय खोल्न जति जोड गर्दछौं । विद्यालय सञ्चालनमा आएपछि व्यवस्थापनमा चासो दिइँदैन, ‘त्यसको समीक्षा हुनु जरुरी छ’ मुख्यमन्त्री भट्टले भन्नुभयो ।

सरकारको विद्यालयमा लगानी धेरै छ, लगानी अनुरुपका प्रतिफल नआउनुको कारण खोज्नुपर्ने बेला आएको उहाँले बताउनुभयो । ‘म प्रदेशको मुख्यमन्त्री हुँ, मेरा छोराछोरी सरकारी विद्यालयमा पढ्छन्’ भन्दै ‘विद्यालयमा पढाउने शिक्षकले आ–आफ्ना छोराछोरीलाई संस्थागत विद्यालयमा पढ्नका लागि पठाउने गरेका छन्। आफैँले पढाएको विश्वास नभएर पठाउने गरेका हुन् वा अन्य कुनै कारण छ, यसको खोजी गरिनुपर्छ’ मुख्यमन्त्री भट्टको भनाइ छ ।
मुख्यमन्त्री भट्टले घरपछिको शिक्षा दिने ठाउँ विद्यालय रहेको चर्चा गर्नुहुँदै विद्यार्थीमा नैतिकताको पाठ सिकाइनुपर्ने बताउनु भयो । उक्त कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले शिक्षा क्षेत्रको विकासका लागि प्रदेश सरकारले नयाँ नीति ल्याउन लागेको जानकारी गराउनु भयो ।

उक्त कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले शिक्षा, स्वास्थ्य र खेलकूदलगायतका क्षेत्रमा देखिने गरी प्रगति भइरहेको दावी गर्नुभयो । मुख्यमन्त्री भट्ट, सामाजिक विकासमन्त्री खड्का तथा प्रदेशसभा सदस्यद्वय महेशदत्त जोशी र कुलवीर चौधरीसहितको टोलीले बेलौरी कलुवापुर सडकखण्ड, कलुवापुर नाइल–बुडर सडकखण्ड र दैजी–लिप्ना सडकखण्डको स्थलगत अवलोकन समेत गर्नुभएको थियो । रासस