काठमाडौं – अफगानिस्तानबाट विदेशी सेना फिर्ता गर्ने योजनासँगै तालिवानी विद्रोहीले आफ्नो कारवाहीलाई तिब्रता दिन थालेका छन् । त्यहाँ तालिवान आक्रमण नियन्त्रणका लागि अफगानी सरकारले ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यु जारी गरिएको छ । देशका ३४ प्रान्तमध्ये ३१ प्रान्तमा रातिको समयमा कर्फ्यु आदेश जारी गरिएकोे अफगानिस्तानको आन्तरिक मन्त्रालयले जनाएको छ ।

मे महिनाको सुरुदेखि नै अफगानिस्तानको तालिबान समूहले मुख्य सीमा नाका पार गर्ने दर्जनौं जिल्लाहरू कब्जा गरेको र केही प्रान्तका सदरमुकामलाई घेरा हालेको छ । ‘हिंसा रोक्न र तालिबानी आन्दोलनलाई सीमित गर्नका लागि काबुल, पञ्जशीर र नान्गाहर बाहेक देशभरिका ३१ प्रान्तमा रात्रिकालीन कर्फ्यू लागू गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।

कर्फ्यू आदेश स्थानीय समयअनुसार बेलुका १० बजेदेखि बिहान ४ बजेसम्मका लागि प्रभावकारी हुने आन्तरिक मन्त्रालयका नायब प्रवक्ता अहमद जिया जियाले पत्रकारलाई बताएका छन् । अमेरिकी नेतृत्वमा रहेका विदेशी सेनाहरूको पूर्ण वापसीपछि पुनः शक्ति आर्जन गर्दै तालिबानले अफगानिस्तानका झण्डै चार सय जिल्लामध्ये आधा क्षेत्र नियन्त्रणमा लिएको उक्त समूहले दावी गरेको छ ।अमेरिकी सेना फिर्ता तयारीसँगै तालिवान समूहले देशभर आफ्ना हिंसात्मक गतिविधिलाई बढाएको छ ।

यस हप्ताको ईद अल–अधाको मुस्लिम बिदाको समयमा हिंसा केही हदसम्म कम भए पनि सरकारी सुरक्षा फौजलाई लक्षित गरी तालिवानी लडाकुहरुले आक्रमण बढाएका छन् । जवाफी कारबाहीमा विगत २४ घण्टामा विभिन्न प्रान्तमा २६० जनाभन्दा बढी तालिवान लडाकूहरू मारिएको सरकारी अधिकारीको दावी छ । सरकारी अधिकारी तथा तालिबान समूहले उनीहरूको दावीलाई बढाइचढाइ गरिरहेको तर यसको स्वतन्त्र रूपमा प्रमाणित गर्न नसकिएको स्थानीय अधिकारकर्मीले जनाएका छन् ।