काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले धर्म निरपेक्षताको आडमा सनातन धर्ममाथि योजनावद्ध रुपमा आक्रमण भइरहेको बताउनु भएको छ । आज शनिबार काठमाडौंको क्षेत्र नं. ५ (क) मा आयोजित अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष थापाले उक्त धारणा व्यक्त गर्नु भएको हो ।


अध्यक्ष थापाले देशमा १४ वर्षअघि आमुल परिवर्तनको नाममा गणतन्त्र, धर्मनिरपेक्षता र सङ्घीयता षड्यन्त्रमूलक ढङ्गले लादिएको भन्दै अब काङ्ग्रेस र कम्युनिष्टको विकल्प राप्रपा मात्र हुनसक्ने दावी समेत गर्नु भएको छ । आज काङ्ग्रेस र कम्युनिष्टबीच वैचारिक, चरित्रगत, नीतिगत कार्यशैलीमा भिन्नता नरहेको अध्यक्ष थापाको जिकिर छ ।

नेपालीको पहिचान, राष्ट्रिय एकताको आधार, समाज, राष्ट्र र परिवार सञ्चालन गर्ने आधारलाई नष्ट गरेर विदेशी संस्कृति र धर्म लाद्ने काम भएको अध्यक्ष थापाको आरोप छ । मुलुकमा व्याप्त विकृति, विसङ्गति र बेथितिको अन्त्य चाहने हो भने अब नेपाली जनताले राप्रपा रोज्नुको विकल्प नभएको अध्यक्ष थापाको भनाइ छ । धर्म निरपेक्षताको आडमा संगठित र योजनावद्ध रुपमा सनातन धर्ममाथि आक्रमण भइरहेको भन्दै अध्यक्ष थापाले प्रमुख नेताहरुको अकर्मण्यताले देशमा विदेशी चलखेल बढेको आरोप लगाउनु भएको छ ।

काङ्ग्रेस र कम्युनिष्टको असफलता, भ्रष्टाचार र कुशासनको भण्डाफोर गर्दै देशव्यापी आन्दोलनमा जानुपर्ने भन्दै अध्यक्ष थापाले जनताले अब विकल्प खोजेका छन्, त्यो वैकल्पिक शक्ति भनेको केवल राष्ट्रिय प्रजातन्त्री पार्टी भएको हुँदा त्यसका लागि सक्रियतापूर्वक काम गर्नु पर्ने बताउनु भएको छ । पार्टीको महाधिवेशन र स्थानीय तहको निर्वाचनको तयारी तीब्र पार्न कार्यकर्ताहरुलाई निर्देशन दिँदै अध्क्ष थापाले संगठन सुदृढीकरण, सक्रिय सदस्यता वितरण अभियान र जनतासँग हातेमालो गरेर काम गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनुभएको छ ।