काठमाडौं — परनिर्भरताका कारण नेपालको व्यापार घाटा वर्षेनी बढ्दो छ । भन्सार विभागले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७÷७८ को तथ्याङ्कअनुसार एक वर्षमा व्यापार घाटा झन्डै १४ खर्ब रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ को तुलनामा यो रकम २७.२६ प्रतिशत बृद्धि भएको छ । आ.व. २०७६÷७७ मा देशको कुल व्यापार घाटा १० खर्ब ९९ अर्ब ८ करोड रुपैयाँ रहेको थियो । देशको कुल बजेटको हाराहारीमा व्यापारघाटा भएको छ । अहिले भने घाटा चुलिएर १३ खर्ब ९८ अर्ब ७१ करोड रुपैयाँ पुगेको विभागले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । नेपालले आयात प्रतिस्थापन गर्न सकिने वस्तुको समेत आयात गर्दा देशको व्यापार घाटा निरन्तर चुलिंदै गएको छ ।

देश कोरोना भाइरसको महामारीले आक्रान्त बनिरहँदा वैदेशिक व्यापार भने करिब ३० प्रतिशत बढेर १६ खर्ब ८० अर्ब ९६ करोड पुगेको छ । आयात व्यापार २८.६६ प्रतिशत बढेर १५ खर्ब ३९ अर्ब ८३ करोड पुगेको छ । आर्थिक वर्ष २०७६÷७७ मा आयात व्यापार ११ खर्ब ९६ अर्ब ७९ करोड थियो । यस्तै निर्यात पनि केही सुधार भएको छ । निर्यात व्यापार ४४.४३ प्रतिशत बढेर १ खर्ब ४१ अर्ब १२ करोड पुगेको छ । गत वर्ष ९७ अर्ब ७० करोडको निर्यात भएको थियो । जानकारका अनुसार निर्यातजन्य वस्तु उत्पादन तथा उत्पादकत्व बढाउन नसक्दा पनि व्यापार घाटा बढ्दै गएको छ ।

विभागको तथ्याङ्कअनुसार सबैभन्दा धेरै पेट्रोलियम पदार्थको आयात हुने गरेको छ । पेट्रोलियम पदार्थ आयातमा मात्रै १ खर्ब ६० अर्ब ५३ करोड रुपैयाँ खर्च भएको छ । यसैगरी डिजेल खरिदमा ९१ अर्ब ९४ करोड, एलपी ग्यास खरिदमा ३६ अर्ब १५ करोड र पेट्रोल खरिदमा ३२ अर्ब ४४ करोड बाहिरिएको विभागको तथ्यांक छ । साथै एमएस बिलेट ७१ अर्ब ५२ करोड र भटमासको तेल कच्चा पदार्थ ५३ अर्ब ३८ करोड रुपैयाँको आयात भएको छ । कच्चा पदार्थका रूपमा आयातित भटमास रिफाइन गरेर पुनः भारत निर्यात हुन्छ । यस्तै ३६ अर्ब ९० करोडको मोबाइल फोन, २९ अर्ब ४८ करोडको तयारी कपडा, २७ अर्ब ६६ करोड रुपैयाँको पोलिथिन दाना र २७ अर्ब ४८ करोड रुपैयाँको चामल आयात भएको विभागको तथ्याङ्कमा उल्लेख छ ।

यसैगरी नेपालले निर्यात गर्ने वस्तुमा पहिलो भटमासको तेल हो । एक वर्षको अवधिमा भटमासको तेल ५३ अर्ब ६५ करोड रुपैयाँको निर्यात भएको छ । भटमासको तेल निर्यातले समग्र निर्यात बढाएको छ । व्यवसायीहरूले ब्राजिल, अर्जेन्टिना, सिङ्गापुर र मलेसियाबाट कच्चा तेल आयात गरी प्रशोधन गरेर निर्यात गर्दै आएका छन् । आयातित कच्चा पदार्थ रिफाइन गरेर पुनः भारत निर्यात गर्ने गरिएको छ ।

नेपालले निर्यात गर्नेमा अर्को महत्वपूर्ण वस्तुमा सेन्थेटिक यार्न दोस्रो नम्बरमा रहेको छ । एक वर्षमा ८ अर्ब २६ करोड रुपैयाँ सेन्थेटिक यार्न निर्यात भएको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी उनी गलैंचा कार्पेट रु.७ अर्ब २४ करोड, अलैंची रु. ७ अर्ब २ करोड, तयारी कपडा रु.५ अर्ब ११ करोड र जुटका बुनिएका कपडा रु.४ अर्ब २९ करोड रुपैयाँ बराबरको निर्यात भएको जनाइएको छ ।