सुर्खेत – जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाँच फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जुवा मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–४ सुर्खेतका ३१ वर्षीय लोकेन्द्र थापा, सोही नगरपालिका–५ निवासी ३८ वर्षीय धनबहादुर गुरुङ, वडा नं ६ बस्ने ४० वर्षीय दीपेन्द्र सुनार, ३७ वर्षीय सन्दीप श्रेष्ठ र रोशन भट्टराईलाई बिहीबार पक्राउ रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिनुभयो ।

वि.सं २०७१ मङ्सिर १५ गतेको जिल्ला प्रशासन कार्यालय सुर्खेतको फैसला आदेशले लगत नं १०६२ मा लगत कसिएको जनही रु २ सय असुलउपर गर्ने प्रयोजनका लागि विशेष सूचनाका आधारमा ती फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला प्रशासन कार्यालय सुर्खेतमा बुझाइएको प्रहरी नायब उपरीक्षक घर्तीले बताउनुभयो । –रासस