काठमाडौं – एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई कोरोना खोप खरीद गर्न १६ करोड ५० लाख डलर (करिब २० अर्ब रुपैयाँ) ऋण दिने भएको छ । यो ऋणले नेपालको कोरोना खोप अभियान सञ्चालन र आपूर्ति प्रणालीमा सहयोग पुग्ने एडीबीले आज एक विज्ञप्ती जारी गर्दै बताएको छ ।

यसबाट अनुमानित १ करोड ५९ लाख डोज कोरोना खोप किन्न सकिने एडीबीले जनाएको छ । एडीबीका अध्यक्ष मासात्सुवु आसाकावाले एडीबीको यो सहयोगले निकै आवश्यक परेको कोरोना खोप किन्दै आफेना नागरिकको सुरक्षा गर्न र सङ्क्रमण नियन्त्रण गर्न सहयोग पुग्ने उल्लेख गर्नुभएको छ ।

छिट्टै खोप किन्दै अवस्था सामान्य बनाउनु अहिलेको आवश्यकता रहेको उहाँको भनाइ छ । यसअघि एडबीले एसिया प्यासेफिक क्षेत्रमा खोप खरिद गर्न ९ अर्ब डलर दिने निर्णय गरेको थियो । यो सन् २०२० डिसेम्बरको निर्णय हो । सोही अन्तर्गत नेपालले समेत यो सहयोग पाएको हो । एबडीले यस कार्यक्रममा अन्य सरोकारवाला निकायसँग समेत सहकार्य गर्ने बताइएको छ ।