काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्र उकास्न सरकारले कोरोना खोपसँगै राहतको प्याकेज ल्याउने बताउनुभएको छ । अर्थतन्त्र उकास्ने गरी आर्थिक प्याकेजका लागि मन्त्रालयले तयारी गरिरहेको पनि उहाँले बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घको १८ औं वार्षिक साधारणसभाको उद्घाटन सत्रलाई सम्बोधन गर्दै आज अर्थमन्त्री शर्माले, ‘कोभिड प्रभावित अर्थतन्त्र पुनरुत्थान गर्न भ्याक्सिनसँगै राहतको प्याकेज सरकारले ल्याउँदै छ, अर्थ मन्त्रालयले यसको तयारी गरिरहेको छ ।’

उहाँले कोरोना महामारीका कारण मुलुक आर्थिक रुपले चुनौतीपूर्ण अवस्थामा रहेको भए पनि यसले नयाँ सभ्भावनाको बाटो समेत देखाएको बताउनुभयो । कोभिडले आत्मनिर्भरताको बाटोतर्फ जान सिकाएको भन्दै मन्त्री शर्माले यो बेला निजी क्षेत्र र राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने धारणा राख्नुभयो ।

शर्माले सरकारले आयात निरुत्साहित गर्दै निर्यातमा जोड दिने भन्दै त्यसका लागि प्रदेशस्तरमा साना उद्योग र त्यसलाई जोड्ने ठूला उद्योग निर्माण अबको प्राथमिकता भएको बताउनुभयो । स्वदेशी उत्पादन बढाउन उद्योग परिसङ्घले शुरु गरेको ‘मेक इन नेपाल स्वदेशी’ अभियानले छिट्टै नतिजा दिनेमा आफू विश्वस्त रहेको अर्थमन्त्री शर्माको भनाइ थियो ।