बेलायत – कोरोना महामारीका कारण प्रभावित बनेका नेपालस्थित २५ जना पत्रकारहरुलाई नेपाल पत्रकार महासङ्घ यूके शाखाले आर्थिक सहयोग गर्ने भएको छ । कोभिड महामारीबाट प्रभावित नेपालस्थित पत्रकारहरुको सहयोगका लागि नेपाल पत्रकार महासङ्घ यूके शाखाले ५ लाख १६ हजार रुपैयाँ महासङ्घ केन्द्रको खातामा पठाएको छ । पत्रकारहरुको सहयोगार्थ बेलायतमा जुटाइएको ३१ सय ९९ सय पाउन्ड रुपैयाँ आइएमईमार्फत् हिजो महासङ्घ केन्द्रलाई पठाइएको हो । उक्त रकममा आइएमई लन्डनको अफरमा थप भएको रकम समेत गरी कुल ५ लाख १६ हजार रुपैयाँ महासङ्घ केन्द्रको खातामा जम्मा गराइएको पत्रकार महासङ्घ युकेका कोषाध्यक्ष सविन्द्रकुमार गुरुङले जानकारी दिनुभयो ।

सङ्कलित रकमबाट महामारीका कारण विभिन्न समस्यामा परेका देशभरका २५ जना पत्रकारलाई २० हजारका दरले ‘लेखन–वृत्ति’ प्रदान गरिनेछ । सहयोगको आवश्यकतामा रहेका पत्रकारहरुलाई महासङ्घ केन्द्रको सिफारिसका आधारमा सहयोग बाँडिनेछ । महासङ्घको काठमाडौंस्थित कार्यालयमा छिटै एक समारोह आयोजना गरी सहयोग हस्तान्तरण गरिने पत्रकार महासङ्घ यूके महासचिव नरेन्द्र बस्नेतले बताउनुभएको छ । गत जुन १३ मा निर्वाचित शाखाको पाँचौं कार्यसमितिले आफ्नो पहिलो बैठकबाटै निर्णय गरेर महामारी पीडित पत्रकारको लागि सहयोग सङ्कलन गरेको थियो । कार्यसमितिका पदाधिकारी, शाखाका सदस्य एवम् शुभेच्छुकहरु समेतको सहयोगमा सहयोग सङ्कलन गरिएको थियो । सहयोग सङ्कलनको संयोजन शाखाका वरिष्ठ उपाध्यक्ष दिनेशकुमार परियार, उपाध्यक्ष प्रमिला लावुङ राई र कार्यसमिति सदस्य गोमा रानाले गर्नुभएको थियो ।

नेपाल पत्रकार महासङ्घ बेलायतका अध्यक्ष ध्रुवराज अर्यालले महामारीका बेला अफ्ठेरोमा परेका सहकर्मीहरुको हौसला बढाउने उद्देश्यले सहयोग पठाइएको बताउनुभयो । अध्यक्ष अर्यालका अनुसार, ‘महामारीका कारण विभिन्न खालको समस्या झेल्न बाध्य पत्रकारहरुलाई हामी पनि संगै छौं है भन्ने सन्देश दिन खोजेका हौं’, ‘उहाँहरुको मनोबल उच्च पार्ने हाम्रो चाहना हो ।’ यस अभियानमा आर्थिक सहयोग प्रदान गर्ने सम्पूर्ण सहयोगदाता, सहयोग वितरणको संयोजन गर्ने महासङ्घ केन्द्र एवम् सहयोग सङ्कलनमा जुट्ने सिङ्गो कार्यसमितिलाई अध्यक्ष अर्यालले धन्यवाद ज्ञापन गर्नुभएको छ ।