काठमाडौं – बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताउनु भएको छ । उहाँले केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने बताउनुभएको हो ।

उहाँले केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्रदेशमा पनि असर परेको छ । त्यो स्वाभाविक प्रक्रिया पनि हो । प्रदेश सरकारको अवस्था के हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । सरकार परिवर्तन वर्तमान परिस्थितिको माग पनि हो । केही दिन कुर्नुहोस् नेकपा एमाले कै नेतृत्वमा नाम चले कै व्यक्ति मुख्यमन्त्री बन्नु हुनेछ ।’

एमाले वरिष्ठ नेता नेपाल पक्षका नेता पाण्डेले प्रदेशमा राजनीतिक गतिविधि सञ्चालनको लागि आफूहरू तयारी अवस्थामा रहेको र केन्द्रीय निर्देशन पर्खिरहेको बताउनुभयो । उहाँले प्रदेश सरकारलाई जोगाउन यस अघि भएका सहमति र सहकार्यलाई मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट कुनै पहल नभएको भन्दै सत्तापक्षकै फरक विचारधारामा रहेका सांसदहरुलाई हेप्ने र पेल्ने काम भइरहेको बताउनुभयो । नेता पाण्डेले विगतका गलत क्रियाकलापहरूलाई सुधार्नका लागि पनि मुख्यमन्त्री पौडेलले सत्ता हस्तान्तरण गर्न सक्नु पर्ने भन्दै नेकपा एमालेको एकता कायम रहे मुख्यमन्त्री सहित मन्त्रीहरू फेरिने अन्यथा फरक पार्टी निर्माण गरी गठबन्धनको सरकारमा सहभागी भएर सरकारको नेतृत्व गर्ने उल्लेख गर्नुभयो ।

माधव नेपाल समूहले बागमती प्रदेश सरकार जोगाउन कै लागि पनि विपक्षी दलहरूको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको भन्दै सत्ता र शक्तिको आड बोक्नेहरूले विगतका इतिहास पनि पल्टाएर हेर्न जरुरी रहेको उहाँको भनाइ छ । नेकपा एमालेको एकता जोगाउन नेता माधव नेपाल र उहाँ निकट नेता तथा कार्यकर्ताहरूको योगदानलाई पनि स–सम्मान कदर गर्नुपर्ने बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेको धारणा छ । नेता पाण्डेले यस विषयमा पार्टी भित्र केही छलफल भएको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले पनि पद हस्तान्तरण गरेर पार्टी एकता जोगाउनका लागि योगदान गर्ने सहमति समेत गरिसकेको दाबी गर्नुभयो ।