काठमाडौं – साताको तेस्रो दिन आज सेयर बजार परिसूचक नेप्से अधिकतम ९ अङ्क माथिले घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से परिसूचक ९ दशमलव ०१ अङ्कले घटेर २ हजार ९८५ दशमलव ५७ विन्दुमा झरेको हो ।

नेप्सेका अनुसार आज ‘क’ वर्गका ठूला कम्पनीका सेन्सेटिभ इन्डेक्स समेत २ दशमलव ८२ अङ्कले घटेर ५५८ दशमलव ११ विन्दुमा झरेको छ । यस दिन व्यापार, होटल तथा पर्यटन, हाइड्रोपावर, म्यानु एण्ड प्रो र म्युचुअल फण्ड समूहहरु धनात्मक (पोजेटिभ) हुँदा बैंकिङ्ग, विकास बैंक, फाइनान्स, जीवन बीमा तथा निर्जीवन बीमा लगायतका समूहहरु ऋणात्मक भएका छन् ।

कुल २१९ कम्पनीका ३ करोड १६ लाख कित्ता माथिको सेयर ८४ हजार ४६८ पटक बजारमा किनबेच हुँदा आज कुल ७ अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ रुपैयाँको कारोबार भएको छ ।