काठमाडौं– माछापुच्छ्रे बैंकले कारोना भाइरसको महामारीलाई ध्यानमा राख्दै काठमाडौंको महाराजगञ्जस्थित सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । हरेक अस्पतालमा कोरोना विशेष वार्डको अनिवार्य आवश्यकता महसुस गरी बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त अस्पतालमा कोरोना विशेष वार्डको स्थापना गर्न लागेको हो ।

कोरोना विशेष वार्ड स्थापना गर्नेसम्बन्धी सम्झौतापत्रमा सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रका तर्फबाट कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारी तथा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइरालाले हस्ताक्षर गर्नुभएको हो ।

सम्झौतापश्चात् बैंकले सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रले अस्पताल परिसरमा उपलब्ध गराएको स्थानमा कोरोना विशेष वार्ड निर्माण गरी वार्ड सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रलाई हस्तान्तरण गर्नेछ ।

माछापुच्छ्रे बैंकले सातै प्रदेशमा आफ्ना १ सय ६१ वटा शाखा र १ सय ६५ शाखारहित बैंकिङ सेवा, ५ एक्सटेन्सन काउन्टरसमेत गरी ३ सय ३१ स्थानबाट बंैकिङ सुविधा प्रदान गरिरहेको छ । साथै, देशभर २ सय २ वटा एटीएम सञ्चालनमा रहेको बैंकले जनाएको छ ।