काठमाडौं – आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि नेपाल उद्योग परिसङ्घले अघि बढाएको ‘मेक इन नेपाल स्वदेशी’ अभियान कार्यान्वयनमा लैजाने अर्थमन्त्री जनार्दन शर्माले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आइतबार नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको भेटका क्रममा अर्थमन्त्री शर्माले यस्तो प्रतिबद्धता प्रस्फुटन गर्नुभएको हो ।

आफ्नो प्राथमिकता पनि आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु नै रहेको जिकिर गर्दै अर्थमन्त्री शर्माले निजी क्षेत्रले अघि बढाएको अभियानमा आफ्नो साथ र सपोर्ट रहने बताउनुभयो । अर्थमन्त्री शर्माले भन्नुभयो– ‘मैले मन्त्री भएलगत्तै तथ्याङ्कहरू हेरेँ, हाम्रो आयात उच्च रहेको तर निर्यात कमजोर रहेको र विदेशी मुद्रा सञ्चिति पनि कम रहेको देखेँ । यो अवस्थामा अब परिवर्तन ल्याउन जरुरी छ, त्यसका लागि सरकार र निजी क्षेत्र मिलेर नेपालमै उत्पादन वृद्धि गर्ने र आयात न्यूनीकरण गर्नेतर्फ सोच्नुपर्ने बेला आएको छ’ ।

सो अवसरमा उहाँले आर्थिक विकास, रोजगारी सिर्जना र आत्मनिर्भर अर्थतन्त्र निर्माणका लागि निजी क्षेत्रलाई सधैं साथमा लिएर अघि बढ्नेमा आफु सधैं सकारात्मक रहने बताउँदै औद्योगिक वातावरण सिर्जनाका लागि निजी क्षेत्रलाई सहयोग गर्न आफू सधैं तयार रहेको उल्लेख गर्नुभयो ।

‘सरकारको उद्देश्य अर्थतन्त्रको सबलीकरण नै हो । उहाँले भन्नुभयो, निजी क्षेत्रका लागि लगानीको वातावरण तयार गर्न र नीतिगत सहजीकरण गर्न हामी सदैव तयार छौँ । तपाईंहरूले लगानी बढाउनुस् । साथै मन्त्री शर्माले आफू निजी क्षेत्रबाट रचनात्मक सुझाव र सल्लाह लिएर अघि बढ्ने बताउँदै कोभिड– १९ को महामारीले अर्थतन्त्रमा परेको प्रभाव न्यूनीकरण गर्दै अघि बढ्न सरकारलाई निजी क्षेत्रको सहयोग आवश्यक पर्ने उल्लेख गर्नुभएको छ । मन्त्री शर्माले असल औद्योगिक सम्बन्धसहितको लगानीयोग्य वातावरण सिर्जना आफ्नो प्राथमिकतामा रहेको समेत बताउनुभयो ।

नेपाल उद्योग परिसङ्घको प्रतिनिधि मण्डलसँगको उक्त कार्यक्रममा परिसङ्घका अध्यक्ष सतीशकुमार मोरले नेपाल सरकारको अर्थमन्त्री पदमा नियुक्त भएकोमा अर्थमन्त्री शर्मालाई बधाई ज्ञापन गर्दै सबै नेपाली नागरिकलाई जति सक्दो चाँडो खोप र आर्थिक पुनरुत्थानको व्यवस्था गर्न मन्त्री शर्मासँग आग्रह गर्नुभएको छ ।