जनकपुर– केन्द्रीय राजनीतिको कित्ताकाटको प्रभाव सबै सातवटै प्रदेशमा बाछिटा पुगेको छ । त्यो बाछिटाले गण्डकी प्रदेशका मुख्यमन्त्री नै फेरिन पुगे । त्यसैगरी प्रदेश नम्बर २ मा पनि जनता समाजवादी पार्टीको महन्थ ठाकुर पक्षका मन्त्रीहरु सत्ताच्यूत हुन पुगे । प्रदेश दुईमा उपेन्द्र यादव पक्षको जसपा, नेपाली काङ्गेस र नेकपा माओवादी केन्द्रको गठबन्धन सरकार बन्यो ।

आजमात्रै नेकपा माओवादी केन्द्रका दुईजना सांसद प्रदेश सरकारका मन्त्री बनेका छन् । माओवादी केन्द्रबाट मन्त्री हुनेमा भरतप्रसाद साह र रुवी कर्ण हुन् । उनीहरु दुवैले पद तथा गोपनीयताको सपथ लिएका छन् । यसअघि नेपाली काङ्ग्रेसका तीन जना प्रदेश सरकारको मन्त्रीमा नियुक्त भैसकेका छन् । आन्तारिक मामिला तथा सञ्चारमन्त्रीको जिम्मेवारी पाएका साहलाई प्रदेश प्रमुख राजेश झा अहिराजले शपथ ग्रहण गराएका छन् भने आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्रीको जिम्मेवारी पाएकी रुवी कर्णलाई मुख्यमन्त्री लालबाबु राउतले आज शनिबार पद तथा गोपनियताको सपथ ग्रहण गराएका छन् । माओवादी केन्द्रको कोटाबाट नियुक्त भएका दुवैमन्त्रीले शहीदको नाममा सपथ लिएका थिए ।

सपथ ग्रहणको समय अपरान्ह ३ बजे निर्धारण गरिएपनि शपथको भाषाका विषयमा उठेको विवादले पद तथा गोपनियताको शपथ ग्रहण झण्डै डेढ घण्टाको ढिलाइ पछि सुरु भएको थियो । नवनियुक्त दुवै मन्त्रीले मातृभाषा मैथिलीमा सपथ लिने अडान लिएता पनि कानूनी अड्चनका कारण पछि नेपाली भाषामा सपथ लिएका थिए । पद तथा गोपनियताको शपथ ग्रहण सकिने वित्तिकै नवनियुक्त मन्त्रीद्वयले मातृभाषामा शपथ लिने व्यवस्था गर्न विधेयक ल्याउने दावी गरे ।