काठमाडौं– फिलिपिन्समा आयोजना हुन लागेको २१ औं एशियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपालले खेल्नबाट बन्चित भएको छ । फिलिपिनो सरकारले नेपाल र भारतलाई कोरोना भाइरस सङ्क्रमणको उच्च जोखिममा रहेको देशभन्दै उक्त प्रतियोगितामा भागलिन नदिने जानकारी गराएपछि नेपाली महिला भलिबल टिमको अन्तर्राष्ट्रिय भलिबलमा प्रतिस्पर्धा गर्ने सपना चकनाचुर भएको हो ।

फिलिपिन्सको राजधानी मनिलामा आगामी भदौ १३ गतेदेखि २० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगिताका लागि नेपाली महिला भलिबल टिमले नियमित प्रशिक्षण थालेको थियो । नेपाली महिला टिमले पहिलो पटक एसियन सिनियर महिला भलिबल च्याम्पियनसिप खेलमा भागलिन लागेको थियो । यसपटक पनि समयले नेपाली टिमलाई साथ दिएन । नेपालले एसियाली च्याम्पियनसिपको ऐतिहासिक अनुभव भने बटुल्न पाएन ।
प्रतियोगितामा सुरुमा १७ टिमले भाग लिने भनिएता पनि चीन, भियतनाम, श्रीलङ्का, न्युजिल्याण्ड र इण्डोनेसियाले गरी पाँच टिमले नाम फिर्ता लिएका थिए । नेपाल र भारतलगायत अरु दुई टिम पनि उक्त प्रतियोगिताबाट घटेपछि आठ टिमबीच प्रतिस्पर्धा हुने भएको छ ।
नेपाल भलिबल संघले फिलिपिन्सको उक्त निर्णयले नेपाली महिला भलिबल टिमको भावनामा चोट पुगेको जनाएको छ । यो निर्णयसँगै नेपाली महिला भलिबल खेलाडीहरुको बन्द प्रशिक्षण पनि स्थगित गरिएको संघद्वारा जारी बिज्ञप्तीमा जनाइएको छ ।