काठमाडौं – बलिउड अभिनेत्री सुरेखा सिकरीको आज शुक्रबार ७५ वर्षको उमेरमा निधन भएको छ । उनको मृत्यु हृदयाघातबाट भएको हो । सुरेखा केही समय यता बिरामी थिइन् । गत वर्ष उनलाई ब्रेन स्ट्रोक पनि भएको थियो । सुरेखाले सन् १९७८ मा ‘किस्सा कुर्सीका’ चलचित्रबाट अभिनय यात्रा सुरु गरेकी थिइन् ।

उनले ‘तमस’(सन् १९८८), मम्मो(सन् १९९५) र ‘बधाई हो’(सन् २०१८) बाट सहायक अभिनेत्रीका लागि राष्ट्रिय पुरस्कार प्राप्त गरेकी थिइन् । उनी अभिनित चलचित्र ‘किस्सा कुर्सीका’ सन् १९७८ मा इन्दिरा गान्धीमाथि बनाइएको थियो । अमृत नाहटाको निर्देशन रहेको उक्त चलचित्रमाथि सञ्जय गान्धीले संकटकालीन समय(१९७५–७७) मा प्रतिबन्ध लगाएका थिए । पछि मात्रै उक्त चलचित्र रिलिज भएको थियो ।