कुश्मा पर्वत – पर्वत जिल्लाको कुश्मा नगरपालिका–८ चुवामा १२ जना बालबालिका कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । यस जिल्लामा बालबालिकाहरु कम सङ्क्रमित भएकोमा चुवामा एकै पटक १२ जना बालबालिका सङक्रमित हुँदा गाउँमा सन्त्रास छाएको छ ।

वडाध्यक्ष राजकुमार क्षेत्रीले बताए अनुसार १३ महिनाको उमेरदेखि ११ वर्ष उमेर समूहका बालबालिकाहरु सङ्क्रमित भएका छन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको स्वाव परीक्षणगर्दा उनीहरुमा सङ्क्रमण पुष्टि भएको वडाध्यक्ष क्षेत्रीले जानकारी दिनुभएको छ ।

एकैपटक धेरै बालबालिका सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको वडाध्यक्ष क्षेत्रीले बताउनु भएको छ । अनुसन्धानकर्ताले तेस्रो लहरको सङ्क्रमणले बालबालिका प्रभावित हुने प्रक्षेपण गरेका थिए । पर्वतको यो सङ्क्रमणको घटना तेस्रो लहरको सङ्केतका रूपमा व्याख्या गरे पनि भेरियन्टको परीक्षण गर्न स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशलाई अनुरोध गरिएको छ ।

वडाध्यक्ष क्षेत्रीका अनुसार अहिले चुवामा मात्रै बालबालिकासहित विभिन्न उमेरका ४२ जना सक्रिय सङ्क्रमित रहेका छन् । वडाले स्वास्थ्यकर्मीको प्रत्यक्ष निगरानी र अक्सिजनसहितको आइसोलेशन सञ्चालन गर्दै त्यस्ता बिरामीको उपचार गरिरहेको छ । सङ्क्रमितलाई निःशुल्क उपचार, औषधि र अक्सोमिटरसमेत वितरण गरिँदै आएको छ । पर्वत जिल्लामा सक्रिय सङक्रमितहरुको सङ्ख्या दुई सय रहेको छ ।

यहाँ दोस्रो लहरमा सङ्क्रमित भएका दुई हजार एक सय ४६ मध्ये एक हजार नौं सय २१ जना निको भैसकेका छन् । कोरोना भाइरसको सङ्क्रमणबाट त्यहाँ अहिलेसम्म ५८ जनाको मृत्यु भैसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । रासस