लुम्बिनी – लुम्बिनी प्रदेशसभामा अधिवेशन अन्त्य गरिएको छ । बजेट पास गर्न नसकेपछि मध्यरातमा अधिवेशन अन्त्य गरिएको हो । लुम्बिनी प्रदेश, मन्त्रीपरिषदको बिहीबारको निर्णय बमोजिम मुख्यमन्त्री शंकर पोखरेलबाट अनुरोध भए अनुसार चालु आठौँ अधिवेशन मध्यराति १२ बजेदेखि अन्त्य गरिएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।

नेपालको संविधानको धारा १८३ को उपधारा २ बमोजिम बिहीबार राति १२ बजेदेखि अधिवेशन अन्त्य भएको प्रवक्ता चिरञ्जिवी पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । लुम्बिनी प्रदेशसभामा बजेटमाथिको छलफल सकिएर सभामुखले निर्णयार्थ प्रक्रियामा प्रवेश गराउनुअघि सत्तापक्षले बैठक बहिस्कार गरेको थियो । बजेट पास गर्न सत्तारुढ दलसँग बहुमत पुग्ने नदेखिएपछि सत्तारुढ दलका सांसदहरु बैठक हलबाट बाहिरिएका थिए । त्यसअघि मुख्यमन्त्री शंकर पोखरेलले बजेट पारित गर्न सहयोग गर्न विपक्षी दलहरुसँग अनुरोध गरेका थिए ।

प्रमुख विपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले सरकार अल्पमतमा रहेकाले बजेट अवैध भएकाले पारित नहुने बताएका थिए । ८३ सदस्यीय प्रदेश सभामा एमालेका ३८ र जसपाका तीनजना गरी ४१ जना सांसद छन् भने विपक्षमा नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका सभामुखसहित १९, जसपाका ३ जना र राष्टिय जनमोर्चाका १ जना गरी ४२ जना छन् ।