काठमाडौं – युनियन लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड भएको छ । बाँडफाँडमा ५ लाख ८० हजार ५ सय जनालाई आईपीओ परेको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । आईपीओको नतिजा प्रशोधनकै क्रममा रहेकाले केहीबेरमा क्यापिटलको वेबसाईट र मेरो सेयरमा हेर्न सकिने छ ।

असार २४ गतेदेखि खुलेको आईपीओमा २१ लाख ८२ हजार ७ सय ७५ वटा आवेदन परेको थियो । तर, दोहोरो आवेदनका कारण ४ हजार ८सय १ र अन्य कारणले ६५ हजार १ सय ७५ वटा आवेदन रद्ध भएको थियो । सदर भएका आवेदनलाई गोलाप्रथामा सहभागी गराइएको थियो । इन्स्योरेन्सको आईपीओमा आवेदन गरेका कुलमध्ये १६ लाख २ हजारभन्दा बढी आवेदकको हात खाली भएको छ ।

इन्स्योरेन्सले असार २४ गतेदेखि १ सय रुपैयाँ अंकित दरमा ५८ लाख ५ हजार कित्ता सेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । कुल ६४ करोड ५० लाख रुपैयाँ बराबरको ६४ लाख ५० हजार कित्ता सेयरमध्ये ५ प्रतिशत अर्थात ३ लाख २२ हजार ५०० कित्ता इन्स्योरेन्सका कर्मचारी र ५ प्रतिशत सामूहिक लागानी कोषलाई छुट्याएको थियो ।