काठमाडौं – उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार, ‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौं’ ।

आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौलाको संयुक्त बैठकबाट निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरिएको हो ।

उपत्यकाका तीनवटै प्रमुख जिल्ला अधिकारीहरुको बैठकले भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिएको छ ।