काठमाडौं – नेपाल राष्ट्र बैंकले आफ्नै मोबाइल एप सार्वजनिक गरेको छ । बैंक तथा वित्तीय क्षेत्रको जानकारी, राष्ट्र बैंकबाट जारीहरु सम्पूर्ण सूचनाहरु एकै प्लेटफर्मबाट उपलब्ध गराउने उद्देश्यले बैंकले ‘नेपाल राष्ट्र बैंक’ नामक मोबाईल एप ल्याएको हो । आज बुधबार एक भर्चुअल कार्यक्रममार्फत बैंकका डेपुटी गभर्नर डा. निलम ढुङ्गाना तिम्सिनाले उक्त मोबाइल एपको सार्वजनिक गर्नुभएको हो ।

उक्त एप मार्फत बैंकको वेबसाइटमा राखिएका नियमित सूचना, जानकारी, विदेशी विनिमय दर, अध्ययन प्रतिवेदन, तथ्याङ्कलगायतका सामग्रीहरू प्राप्त गर्न सकिने बैंकले जनाएको छ । मोबाइल एपको प्रयोगबाट बैंकसँग सम्बन्धित सूचना र जानकारीप्रति सरोकारवाला तथा सर्वसाधारणको पहुँच अभिवृद्धिमा थप सहयोग पुग्ने अपेक्षा बैंकले राखेको छ ।

उक्त एप हालको निम्ति ‘बेटा भर्सन’ मा उपलब्ध छ । प्रयोगकर्ताबाट प्राप्त हुने सुझावको आधारमा यसलाई थप परिष्कृत गर्दै लगिने बैंकले जनाएको छ । हाललाई मोबाइल एप एन्ड्रोइड अपरेटिङ सिस्टम रहेको मोबाइलमा उपलब्ध हुनेछ । उक्त एपलाई क्रमिक रूपमा आइओएस अपरेटिङ सिस्टममा समेत विस्तार गरिने बैंकले जनाएको छ ।