काठमाडौं – लामो समयदेखि भत्ता नपाएका राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इञ्जिनियरहरूको माग पुरा भएको छ । दुर्गममा गएर काम गरेका उनीहरुले विगत १ वर्षदेखि पाउनुपर्ने भत्ता लगायतका पारिश्रमिक नपाएको गुनासो अर्थमन्त्री जनार्दन शर्मासम्म पुगेपछि उहाँले तत्काल समस्या समाधान गर्नुभएको हो ।

अर्थमन्त्री शर्माको निर्देशनपछि बुधबार उनीहरुलाई रकम भुक्तानी गर्न ८ करोड ३४ लाख ९४ हजार रुपैयाँ निकासा भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी सदस्य डा.हरि पराजुलीले जानकारी दिनुभयो । कोरोना महामारीको प्रतिकुल परिस्थितिमा काम गरेका इञ्जिनियरहरूको माग सम्बोधन भएसँगै उनीहरुलाई काम गर्न थप हौसला मिल्ने प्राधिकरणले विश्वास लिएको छ ।

इञ्जिनियरहरूको माग सम्बोधनका लागि डा. पराजुली अर्थ मन्त्रालयमा फाइल बोकेर बुधबार पुग्नुभए लगत्तै शर्माले मातहतको निकायलाई आवश्यक रकम भुक्तानी गर्न निर्देशन दिनुभएको थियो । निकासा भएको रकम ३ हजार ६४ जना इञ्जिनियर तथा प्राविधिकलाई भुक्तानी गरिनेछ । यसअघि आफूहरुले पाउनुपर्ने सेवा सुविधाको माग गर्दै पटक पटक करारका ती इञ्जिनियरहरूले आन्दोलन गर्दै आएता पनि माग सम्बोधन हुन सकेको थिएन ।