काठमाडौं – नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले कर्मचारीहरुलाई काम छोडेर चाकडी गर्न नआउन आग्रह गर्नुभएको छ । अर्थ मन्त्रालयमा पदभार ग्रहणपछि कर्मचारीहरुसँगको परिचयात्मक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले आफू राष्ट्रको लागि केही गर्ने उद्देश्य साथ आएको बताउनुभयो । मन्त्रालयमा मन्त्री र कर्मचारी कदममा कदम मिलाएर हिँड्ने आफ्नो प्रतिवद्धता भएको मन्त्री शर्माले बताउनुभएको छ । मन्त्री र कर्मचारीबीच कुनै दूरी नचाहेको भन्दै मन्त्री शर्माले चाकडी र चाकडीको भाषा प्रयोग गरेर उपस्थित नहुन आग्रह गर्नुभयो ।
उहाँले मन्त्रालयमा काम, समस्या र समस्या समाधानको मात्र कुरा हुने भएकोले सबै मिलेर दाजुभाइ जस्तो भएर काम गर्न आग्रह गर्नुभयो । अर्थ मन्त्रालयले कोभिड—१९ विरुद्धको खोप किन्नका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयलाई ५ अर्ब रुपैँया बजेट सहमति गरेको थियो । अर्थमन्त्री जनार्दन शर्माले बुधबार पदभार ग्रहणका क्रममा कुल चार वटा फाइल सदर गरेकोमा एउटा फाइलमा भने खोप खरिदका लागि स्वास्थ्य मन्त्रालयलाई बजेट सहमति दिने रहेको थियो । अर्थ मन्त्रालयले यसअघि खर्चको सहमति दिएका विभिन्न संघीय, प्रादेशिक, जिल्ला र स्थानीय तह स्तरका स्वास्थ्य संस्थालाई समेत बजेट स्वीकृत गरेको छ ।
स्वास्थ्यबाट आईसीयु, एचडीयु तथा भेन्टिलेटर खरीद भई भुक्तानीका लागि माग आएको ९६ करोड १२ लाख रुपैँया उपलब्ध गराउने सम्बन्धी फाइल समेत सदर भएको छ । कोभिड सम्बन्धी विभिन्न दायित्व, अस्पतालको सोधभर्ना र जोखिमभत्ता समेतका लागि सङ्घीय स्तरका लागि ५६ करोड ४१ लाख र प्रदेश र स्थानीय तहमा जाने गरी ३७ करोड २४ लाख रुपैँया निकासाको फाइल समेत अर्थमन्त्री शर्माले सदर गर्नुभएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बढिरहेको व्यापार घाटा चुनौतीको रुपमा देखिँदै गएको बताउनुभएको छ ।
नवनियुक्त अर्थमन्त्रीको स्वागत तथा पदभार ग्रहण कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले मुद्रा संचितिको अवस्था राम्रो भएपनि व्यापार घाटा चुलिँदै गएकोमा चिन्तित हुनुपर्ने बताउनुभयो । देशको विकास निर्माण तथा सेवा क्षेत्रमा खर्च गर्न पर्याप्त मौज्दात भएपनि हरेक वर्ष बढ्दै गएको व्यापार घाटाले समस्या निम्त्याउने बताउँदै आगामी आर्थिक वर्षमा निर्यातको मात्रा बढाउन सरकारको ध्यान जानुपर्ने बताउनुभयो । देशमा निर्माण वा उत्पादन हुनसक्ने सानो भन्दा सानो माल वस्तु पनि महङ्गोमा आयात भइरहेको गर्भनर अधिकारीले बताउनुभयो ।
नवनियुक्त अर्थमन्त्रीलाई मन्त्रालयमा परिचयात्मक व्रिफिङ गर्दै सचिव शिशिर कुमार ढुंगानाले आर्थिक स्रोतका दक्षतापूर्ण परिचालन गर्न सकेमात्र लक्ष्य गरिएको आर्थिक वृद्धि मेटाउन सकिने बताउनुभयो । व्यापार घाटा कम गर्नुपर्ने विचार राखेका गर्भनर अधिकारीपछि बोल्दै सचिव ढुंगानाले कोरोनाको कारण थलिएको अर्थतन्त्र खुम्चिएको राजश्व संकलनका बीच आर्थिक वृद्धिदरको लक्ष्य भेटाउन श्रोतको दक्षतापूर्ण प्रयोग र संकलन भएको राजश्व आर्थिक वृद्धिका क्षेत्रमा, विकास पूर्वाधारको क्षेत्रमा प्रयोग गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।
यस्तै अर्थमन्त्री जनार्दन शर्मालाई बिफ्रिङ गर्दै सचिव ढुंगानाले खोप खरिद र वितरण तथा कोभिड प्रभावितहरुका लागि राहत र पर्नस्थापना साथै समग्र अर्थतन्त्रको पुनरुत्थानमा मन्त्रालयले प्राथमिकताको साथ काम गर्नुपर्ने बताउनुभयो । यसका साथै अहिले सरकारले निजी क्षेत्रको मनोबललाई उच्च राख्नेगरी काम गर्नुपर्ने बताउनुभएको छ ।