काठमाडौं– जापानको टोकियो सहरमा आगामी साउन ८ गतेदेखि २४ गते (तदनुसार २३ जुलाईदेखि ८ अगस्ट) सम्म गृष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिता हुने निश्चित् भएको छ । विश्वलाई नै कोरोना भाइरसको महामारीले च्यापिरहको बेला गृष्मकालीन ओलम्पिक हुने नहुने अन्योलता थियो । कडा स्वास्थ्य सुरक्षा अपनाएर जापानले यो प्रतियोगिता सञ्चालन गर्न लागेको हो ।


जापानमा हुने यस पटकको टोकियो गृष्मकालीन ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरी २६ जनाले प्रतिनिधित्व गर्ने छन् । टोकियो ओलम्पिकमा पौडीमा गौरिका सिंह र एलेक्स साह, जुडोमा सोनिया भट्ट, सुटिङमा कल्पना परियार, एथलेटिक्सबाट सरस्वती चौधरीले प्रतिस्पर्धा गर्ने निश्चित भएको छ । नेपाल ओलम्पिक कमिटी (एनओसी) ले हिजो ‘ओलम्पिक यात्रा’को कार्यक्रमबीच खेलाडी, प्रशिक्षक तथा अफिसियलहरूको नाम सार्वजनिक गरेको हो । नेपालले टोकियो ओलम्पिकमा चार खेलमा प्रतिस्पर्धा गर्ने छ । जसका लागि पाँच खेलाडी र चार प्रशिक्षक सहभागी हुने छन् भने १७ जना पदाधिकारी जाने भएका छन् । यसअघि नेपाल ओलम्पिक कमिटीले ओलम्पिकमा सहभागिता जाने खेलाडी र प्रशिक्षकबाहेक अफिसियलहरुको नाम सार्वजनिक नगरी गुपचुप राख्ने गरेको थियो ।


सन् २०१६ भएको गृष्मकालि रियो ओलम्पिकमा नेपालबाट आर्चरी, पौडी, जुडो, एथलेटिक्स र तेक्वान्दो खेलमा गरी सात जना खेलाडीले प्रतिस्पर्धा गरेका थिए । तर यसपटक भने सुटिङ, जुडो, आर्चरी तथा पौडी गरी चार खेलमा मात्र खेलाडीले प्रतिस्पर्धा गर्ने छन् । नेपाली खेलाडीहरूले वाइल्ड कार्ड प्राप्त गर्दै ओलम्पिकमा भाग लिने अवसर पाएका हुन् । अन्तिम समयमा एथलेटिक्समा गोपीचन्द्र पार्कीको स्थानमा सरस्वती चौधरीले वाइल्ड कार्ड पाएर पछि ओलम्पिकको यात्रा सुनिश्चित भएको हो ।


पौडी र एथलेटिक्सका खेलाडी युनिभर्सियालिटी प्लेसअन्तर्गत सहभागी हुनेछन् । यसबाहेक अन्य दुई खेलाडी वाइल्ड कार्ड प्राप्त गरी ओलम्पिकमा भाग लिन लागेको एनओसीले जनाएको छ । टोकियो ओलम्पिकमा पौडीकी गौरिकाले उद्घाटनको मार्चपासमा नेपालको झन्डा बोक्ने छिन् । सन् २०१६ को रियो ओलम्पिकमा सहभागी हुने खेलाडीहरुमध्ये नेपालकी गौरिका सबैभन्दा कान्छी खेलाडी बनेकी थिइन् । पौडी खेलाडी गौरिका सिंहको यो दोस्रो गृष्मकालिन ओलम्पिकको यात्रा हो । टोकियो ओलम्पिकका प्रशिक्षणका निम्ति गौरिका र एलेक्स गत साता नै टोकियो पुगेका छन् । टोकियोमा गौरिका र एलेक्सले आ–आफ्नो प्रशिक्षण सुरु गरिसकेका छन् । यता अन्य तीन विधाका खेलाडीहरुलाई एनओसीले सोल्टी होटेलमा राखी प्रशिक्षणको व्यवस्था मिलाएको छ ।


नेपालको ओलम्पिक यात्रा ५७ वर्ष अघि सन् १९६४ को टोकियो ओलम्पिकदेखि भएको हो । त्यसयता नेपालले ओलम्पिकमा सहभागिता जनाउँदै आएको छ । नेपालले ओलम्पिकमा सहभागिता जनाउँदै आएको यो १४ औं संस्करण हो ।


नेपाली खेलाडीमध्ये गौरिकाले महिला १०० मिटर फ्री स्टाइल र एलेक्सले पुरुष १०० मिटर फ्री स्टाइलमा नेपालको तर्फबाट प्रतिस्पर्धा गर्नेछन् भने सुटिङकी कल्पनाले १० मिटर एयर राइफल र जुडोकी सोनियाले महिला ४८ केजी तौल समूहमा प्रतिस्पर्धा गर्ने छन् । यसैगरी सरस्वती चौधरीले एथलेटिक्सतर्फ १०० मिटर दौडमा भिड्ने छिन् । प्रशिक्षकमा पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्राकुमारी मल्ल छन् । टोकियो ओलम्पिकमा ३३ खेलका ३ सय ३९ इभेन्ट्समा खेलाडीहरूले प्रतिस्पर्धा गर्नेछन् ।
टोकियो ओलम्पिक गत वर्ष नै गर्ने कार्यक्रम थियो । तर, विश्वभर फैलिएको कोरोना भाइरसको महामारीले गर्द एक वर्ष पर धकेलिंदा अहिले आयोजना हुन लागेको हो । प्रतियोगिता सञ्चालन हुने नहुँने भन्ने दोधारको अवस्थामा नै अन्ततः प्रतियोगिता सञ्चालन हुने निश्चित भएको छ । यद्यपि टोकियोमा कोरोना भाइरसको सङ्क्रमण नियन्त्रणमा आइसकेको छैन । टोकियावासी स्थानीयहरूले प्रतियोगिता स्थगित गर्नुपर्ने भन्दै विरोध गरिरहेका छन् ।


आयोजक राष्ट्र जापानले कोरोना भाइरस सङक्रमणको आधारमा प्रतियोगितामा सहभागी देशलाई वर्गीकरण गरेको छ । जसअनुसार नेपाल एक नम्बरको जोखिम लिष्टमा रहेको छ । त्यसैले नेपालबाट ओलम्पिकमा खेल्ने जाने खेलाडी, प्रशिक्षक र अफिसियलहरुले कोरोना भाइरस विरुद्धको दुई डोज खोप लिएको हुनुपर्ने छ । नेपाली टोलीका खेलाडी, प्रशिक्षक र अफिसियलहरु सबैले कोरोना भाइरस विरुद्धको दुवै मात्रा खोप लगाइसकेका छन् । साथै नेपाली टोलीका सदस्यहरुले टोकियो प्रवेश गर्नुअघि सात दिन लगातार ‘पीसीआर’ को परीक्षण गर्नुपर्ने छ । टोकियो पुगेपछि नेपाली टोली लगातार तीन दिन ‘क्वारेन्टिन’ मा बस्नु पर्नेछ । नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठले नेपालको सहभागिताको सबै तयारी पूरा भइसकेको बताउनु भएको छ ।

को को पदाधिकारी जाने छन् त जापान ओलम्पिकमा
जापानमा आयोजना हुने गृष्मकालीन ओलम्पिकमा खेलाडी र प्रशिक्षकभन्दा दुई गुणा अफिसियलहरु जाने भएका छन् । विगतमा पनि नेपाली खेलकुदले यो समस्या भेल्दै आएको कुरा हो । एनओसीका अध्यक्ष जीवराम श्रेष्ठ र महासचिव निलेन्द्रराज श्रेष्ठ टोकियो ओलम्पिकमा जाने निश्चित भएको छ । अध्यक्ष र महासचिवबाहेक एनओसीबाट एनओसीका उपाध्यक्ष तथा कार्यकारी निर्देशक चतुरानन्दराज वैद्य, उपाध्यक्ष तेजबहादुर गुरुङ, उपाध्यक्ष सुनीलकुमार श्रेष्ठ, सहमहासचिव पिताम्बर तिम्सिना, सचिव कुमारी तुलसी थापा, सदस्य प्रकाश शमशेर राणा र सदस्य राम अवाले समेत जाने भएका छन् ।

यसैगरी युवा तथा खेलकुद मन्त्रालयका सचिव केदार न्यौपाने पनि टोकियो जाने पक्का भैसकेको छ । राष्ट्रिय खेलकुदबाट उपाध्यक्ष शिव कोइराला, सदस्यसविच रमेशकुमार सिलवाल र सदस्यद्वय सुभाष श्रेष्ठ र सम्पन्न श्रेष्ठ समेत गरी चारजनाले टोकियो ओलम्पिकमा जाने छन् । पाँच खेलाडीका लागि एकजना मेडिकल डा. नविशमान सिंह प्रधान रहने एनओसीले जनाएको छ । यता टोकियो नेपाली दूतावासका कर्मचारी र स्वयंसेवक पनि टोकियो ओलम्पिकमा नेपाली प्रतिनिधिका रूपमा रहने भएका छन् । परिषद्का सदस्यसचिव रमेश सिलवाल सेफ द मिसिनका रूपमा रहेका छन् ।

अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) का अध्यक्ष थोमस बाकले ओलम्पिक खेलकुद आयोजनाका लागि टोकियो सहर यसपटक अहिलेसम्मकै उत्कृष्ट तरिकाले तयार रहेको जनाएका छन् । प्रतियोगिताको उद्घाटन हुनु दश दिनअघि अध्यक्ष बाकले आयोजक सहरको प्रशंसा गरेका छन् । पछिल्लो समय प्रतियोगिता स्थल टोकियो सहरमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ । सोहीकारण कोरोना भाइरस आपत्कालीन अवस्थाको घोषणा गरी प्रतियोगिताको आयोजना गरिनेछ । आयोजक सहर र आइओसीले प्रतियोगिताको दौरान दर्शकलाई अनुमति नदिइने घोषणा गरेको छ ।