सिमकोट – कर्णाली प्रदेश सरकारले कोरोना भाइरसबाट मृत्यु भएकाका परिवारलाई राहत स्वरुप प्रतिपरिवार एक लाखका दरले रकम प्रदान गर्न सुरु गरेको छ । पहिलो चरणमा एक सय ३२ जनालाई राहत रकम वितरण गरिएको हो । आन्तरिक मामिला तथा कानून मन्त्रालयका अनुसार कर्णाली प्रदेशमा हाल सम्म कोरोना संक्रमित मध्ये ३४२ जनाको मृत्यु भइसकेको छ । मंगलबार थप एकजनाको मृत्यु भएको छ ।

यसअघि कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद्को बैठकले नै कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत स्वरुप एक लाख रकम उपलब्ध गराउने निर्णय गरेको थियो । जस अन्तर्गत पहिलो चरणमा सुर्खेत, दैलेख, सल्यान र कालिकोटका गरि १३२ जनालाई राहत उपलब्ध गराएको र अन्यलाई पनि केही दिनमा नै रकम वितरण गर्ने कर्णाली सरकारकी प्रवक्ता समेत रहेकी आन्तरिक मामिला तथा कानून मन्त्री सीताकुमारी नेपालीले बताउनुभयो ।

हाल सम्म ३४५ जनाका परिवारले क्षतिपूर्तिको मागसहित प्रदेश सरकारलाई निवेदन पेश गरेका छन् । पीसीआर परीक्षणबाट कोरोना पुष्टि भएको पत्र, हकवालाको नाता प्रमाणित, मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपि, रकम दाबीकर्ताको नागरिकताको प्रतिलिपिको र हकवालाको बैंक खाताका आधारमा मन्त्रालयले राहत रकम उलब्ध गराएको छ ।

अन्य व्याक्तिहरुको पनि तथ्याङ्क संकलनको क्रममा रहेकाले छिटै सबैले राहत रकम पाउने मन्त्री नेपालीले बताउनुभएको छ । कोरोना पुष्टि भएका मध्ये केही मानिसहरु भारत तथा देशका अन्य प्रदेशमा मृत्यु भएका कर्णालीबासीलाई पनि प्रदेश सरकारले राहत उपलब्ध गराउने भन्दै मन्त्री नेपालीले अन्य क्षेत्रबाट पनि निवेदन आइरहेको बताउनुभयो ।