मकवानपुर– बागमती प्रदेश सरकारको आर्थिक विधेयक पास भएको छ । आज बसेको बागमती प्रदेशसभाको बैठकको बहुमतले आर्थिक विधेयक पारित गरेको हो । आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुङ्गेलले प्रदेशसभामा पेश गर्नुभएको आर्थिक विधेयकमाथि जम्मा १० जना प्रदेश सांसद्हरुले भाग लिंदै प्रश्न गरेका थिए । छलफल पछि उक्त विधेयकलाई बहुमतले पारित गरेको हो । प्रदेश सरकारको उक्त आर्थिक विधेयकमा सत्तापक्ष नेकपा एमालेका २ जना र प्रतिपक्षका ८ जना प्रदेश सांसद्हरुले छलफलमा भाग लिएका थिए ।
छलफलमा भाग लिएका सत्तापक्षका सांसद्हरुले आइतबारको प्रदेशसभाको बैठकमा विनियोजन विधेयकमाथिको खर्च कटौतीको प्रस्ताव राखेर मुख्यमन्त्री डोरमणि पौडेलले जवाफ दिने क्रममा प्राविधिक समस्या आई प्रदेशसभा बैठक केहीबेर रोकिन पुगेको थियो । त्यसपछि प्रतिपक्षले बैठक नै बहिस्कार गरेर संसद्कोे मर्यादालाई उलङ्घन भएको टिप्पणी गरेका थिए । उनीहरुले संसद्को मर्यादालाई नै वेवास्ता गर्ने प्रतिपक्ष दल नेकपा एमालेको एकतादेखि डराएर बैठक छोडेर हिड्नु पर्ने अवस्था आएको बताए ।
नेकपा एमालेले जनमुखी काम गरेर कम्युनिस्टको झण्डालाई उच्च राख्ने काम गरेको भन्दै सरकारले गरेको राम्रो काम देख्न नसकेर विपक्षी दलहरुले संसद् नै बहिस्कार गरेर हिडेको सत्ता पक्षका सांसदहरुको आरोप थियो । बैठकमा आर्थिक विधेयक माथि छलफलमा भाग लिँदै विपक्षी दलहरुले सरकारले आफुहरुले राखेको खर्च कटौतीको प्रस्ताव निष्कृय बनाउने काम भएको भन्दै उक्त कार्यको विरोध गरेका छन् । सत्तापक्षले दम्भ र आडम्बरको आडमा प्रतिपक्षी दलहरुसँग पूर्ण छलफल नै नगरी रातारात बजेट पास गरेर प्रतिपक्षी दलहरुलाई चुनौती दिएको आरोप लगाएको छन् ।
बहुमतको सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशसभा बैठकमा उठेका प्रश्नहरुको चित्तबुझ्दो जवाफ दिन नसक्ने भएपछि कमजोरी लुकाउन रोकिएको प्रदेशसभाको एकलौटी ढङ्गले बैठक बोलाएर विपक्षी बिना नै बजेट पास गरेर आफ्नो निरङ्कुशता चरित्र प्रदर्शन गरेको आरोप लगाएका छन् ।
विपक्षी दलहरुले सरकार टिकाउने सत्ता पक्षको जे जुन खालको दम्भ र घमण्ड छ, त्यसलाई छोडेर प्रतिपक्षी दलसँग मिलेर काम गर्न सुझाएका छन् । यदी सरकारको सधैं यस्तै रवैया रहिरहे विपक्षी दलहरुले प्रदेश सरकारको हैसियत देखाउन कुनै कसर बाँक नराख्ने भनि चेतावनी दिएका छन् । प्रदेश सरकारको आर्थिक विधेयक पारित भए लगत्तै केही समयका लागि प्रदेशसभाको बैठक स्थगित गरिएको छ ।