लण्डन– युरोकपको चालु संस्करणको उपाधी इटालीले बाजी मार्यो । टाइब्रेकरमा इङ्ग्ल्याण्डलाई ३–२ गोलले पराजित गर्दै इटालीले अन्तर्राष्ट्रिय प्रतियोगितामा आफुलाई अम्बल सावित गर्दै युरोकपको उपाधी जित्न सफल भयो । घरेलु मैदान र दर्शकहरुको साथ पाएको इङ्ग्ल्याण्डको यसपटक युरोकपको उपाधी जित्ने सपना पूरा हुन सकेन ।


लण्डनस्थित वेम्बली रङ्गशालामा नेपाली समय अनुसार राती पौने एक बजे सुरु भएको फाइनल खेलमा निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । खेल सुरु भएको दुई मिनेटमै इङ्ल्याण्डले गोलको खाता खोलेको थियो । निकै प्रतिस्पर्धात्मक खेलमा खेलमा इङग्ल्याण्डका लागि लुक शाले अग्रता दिलाएका थिए । पहिलो हाफसम्म पछि परेको इटालीले दोस्रो हाफको ६७ औं मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल गर्दै आफ्नो टिमलाई खेलमा फर्काएका थिए ।


लिग चरणबाटै उत्कृष्ठ लयमा देखिएको इटलीले यो संस्करणको उपाधी जित्ने आम फुटबल विश्लेषकहरुको भनाइ थियो । तर इङ्ग्ल्याण्डले पनि प्रतियोगिता भर आफ्नो खेलमा निखार गर्दै फाइनलको यात्रा तय गरेको थियो । घरेलु मैदान र दर्शकहरुको अपार समर्थन पाएको इङ्ल्याण्डले खेलमा लिएको अग्रतालाई जोगाउन नसक्दा इङ्ल्याण्ड फाइनमा इटालीबाट स्तब्ध बन्न पुग्यो । निर्धाििरत ९० मिनेटसम्मको खेलमा दुवै टिम १–१ गोलको बराबरीमा रहेपछि खेल अतिरिक्त समयमा पुग्यो । थपिएको अतिरिक्त समयमा पनि दुवै टिमले गोल गर्न नसक्दा खेलको अन्तिम निर्णय पेनाल्टी सुटआउटमा पुग्दा इटलीले चालु संस्करणको उपाधी जित्न सफल भयो ।


यसअघि सन् १९६८ मा इटलीले पहिलोपटक युरोकपको उपाधि जितेको थियो भने सन् २००० र २०१२ मा फाइनल पराजित भएको थियो । यो जितसँगै इटलीले दुई पटक युरोकप जितेको इतिहास बनाएको छ । चालु संस्करणमा कुनै पराजय नभोगी युरोकपको उपाधी जितेको इटालीले सबै सात खेलमै जित निकाल्यो । समूह चरणको खेलमा इटलीले स्वीजरल्याण्ड र टर्कीलाई ३–० तथा वेल्सलाई १–० गोल अन्तरले हराएर क्वाटरफाइनलको यात्रा तय गरेको थियो । अन्तिम १६ का टिमबीच भएको खेलमा इटलीले अस्ट्रियालाई २–१, बेल्जियमलाई २–१ र सेमिफाइनलमा पेनाल्टी सुटआउटमा स्पेनलाई ४–२ गोलले हराएर फाइनलमा पुगेको थियो ।


इङ्ग्ल्यान्डले पनि सुरुवाती खेलमा क्रोयशियाविरुद्धको प्रतिस्पर्धात्मक खेलमा १–० को जित निकाल्दा दोस्रो खेलमा स्कटल्याण्डसँग गोलरहित बराबरीमा रोकिएको थियो । समूह चरणको अन्तिम खेलमा इङ्ग्ल्याण्ड चेक गणतन्त्रलाई १–० ले हराएर अन्तिम सोह्रको यात्रा तयगरेको थियो । अन्तिम १६ मा उसले जर्मनीलाई स्तब्ध पार्दै २–० को सहज जित दर्ता गर्यो । त्यस्तै, क्वार्टर फाइनलमा युक्रेनविरुद्ध ४–० को जित निकाल्दै सेमिफानलयको यात्रा तय गरेको थियो । सेमिफाइनलमा डेनमार्कलाई २–१ ले हराउँदै इङ्ग्ल्याण्ड फाइनल पुगेको थियो ।


युरोकपको इतिहासमा इङ्ग्ल्याण्ड फाइनलमा पुगेको यो पहिलो हो । युरोकपमा आजसम्म इङ्ग्ल्याण्ड यो अवस्थाम पुगेको थिएन । उसले दोस्रो हुँदै इतिहास बनाएको छ । इङग्ल्याण्डले सन् १९६६ को विश्वकप पछि अहिलेसम्म कुनै पनि अन्तराष्ट्रिय ठूला प्रतियोगिताको फाइनलमा पुगेको यो नै पहिलो हो । इङ्ग्ल्याण्डले खेलको सुरुवाती दोस्रो मिनेटमा गरेको गोललाई सुरक्षित गर्न सकेको भए उसले नयाँ इतिहास रच्ने थियो । भलै लामो समयपछि इङग्याण्डले यो सफलता पाउनुलाई पनि उपलब्धी मान्नु पर्दछ ।