सर्लाही– दुई थान इटालियन पेस्तोलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतीय बीआर ३० एक्स ६०११ नम्बरको मोटरसाइकलमा यात्रा गरिरहेका उनीहरुलाई ब्रहमपुरी गाउँपालिका २ बाट नियन्त्रणमा लिइएको सर्लाही प्रहरी कार्यालयले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट दुई थान इटालियन पेस्तोल, त्यसमा प्रयोग हुने १७ राउण्ड गोली र दुई थान छुट्टै म्यागेजिन फेला परेको प्रहरीले बताएको छ ।


अवैध हतियार सहित यसरी पक्राउ पर्नेहरुमा ब्रहमपुरी गाउँपालिका–४ भित्रुवन नगर बस्ने २३ वर्षीय रमेश मण्डल, सोही ठाउँका २० बर्षीय लाली भनिने नुर आलम मन्सुर र १९ बर्षीय इमरान रानाभाट रहेको प्रहरीको भनाइ छ । उनीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराइएको छ ।