अफगानिस्तानबाट विदेशी सैनिक फिर्ता हुने क्रम अन्तिम चरणमा पुग्दा तालिबान बिद्रोहीले इरान र तुर्किमेनिस्तानसँग जोडिएका दुई प्रमुख सीमामा नियन्त्रण कायम गरेका छन् । तालिबान बिद्रोहीले अफगानिस्तानको उत्तरी क्षेत्रमा पछिल्लो समय आक्रमक गतिविधि बढाउँदै लगेका छन् । इरानसँगको सीमा इस्लाम काला र तुर्किमेनिस्तानसँगको सीमा क्षेत्र तोर्घुन्दीमा तालिबान बिद्रोहीले कब्जा गरेका हुन् ।

आक्रमणको भिडियोमा तालिबान बिद्रोहीले सीमास्थित भन्सार कार्यालयबाट अफगानिस्तानको झण्डा हटाउँदै गरेको देखिन्छ । अमेरिका नेतृत्वको सैनिकहरु फिर्ता हुने क्रम जारी रहँदा पछिल्ला दिनहरुमा तालिबानले अफगानिस्तानका विभिन्न क्षेत्रमा आफ्नो नियन्त्रण कायम गर्दै लगेको छ । तालिबानले अफगानिस्तानको ८५ प्रतिशत क्षेत्रमा आफ्नो नियन्त्रण रहेको दाबी गरेको छ । तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । तर अरु आँकलनहरुमा अफगानिस्तानका ४०० जिल्लाहरु मध्ये एक तिहाईमा तालिबानको नियन्त्रण छ ।