बागमती प्रदेश – लोक सेवा आयोग हेटौंडाले कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण रोकिएका केही परीक्षाहरु सञ्चालन गर्ने सुचना जारी गरेको छ । आयोगको हिजो असार २५ गतेको बैठकको निर्णय अनुसार, सूचना आयोगको पूर्व सूचना बमोजिम स्थगित भएका र परीक्षा कार्यक्रम निर्धारण हुन बाँकी रहेका चौंथो, पाँचौ र छैटौं तहका पदहरूका परीक्षा कार्यक्रमको तालिका प्रकाशन गरेको हो ।

प्रदेश लोकसेवा आयोगले यस अघि कोरोना सङ्क्रमणको कारण रोकिएको पाँचौँ तह स्वास्थ्यको एनेस्थेसिष्ट पदको प्रथम चरणको र चौथो, पाँचौँ तथा छैटौं तहका प्रशासन सेवा, सहायक प्रशासन ,लेखा,लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम तालिका प्रकाशन गरेको हो ।

पाँचौँ तह खुल्ला तर्फको स्वास्थ्यको एनेस्थेसिष्ट पदको परिक्षा पहिलो चरणको परिक्षा साउन ३० गते, चौथो तहका खुल्ला र समावेशी तर्फको प्रशासन सेवा, सहायक प्रशासन,लेखा, लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम आगामी भदौ ४ गते दोस्रो पत्र र ५ गते तेस्रो पत्रको परीक्षाका कार्यक्रम संचालन हुने बागमती प्रदेश लोक सेवा आयोग परीक्षा सञ्चालन शाखाले जनाएको छ ।

त्यस्तै पाँचौ तहको खुल्ला र समावेशी तर्फको प्रशासन सेवा, सहायक प्रशासन ,लेखा,लेखापाल समूहका पदहरुको दोस्रो चरणको लिखित परीक्षा कार्यक्रम भदौ ११ गते दोस्रो पत्र र भदौ १२ र १३ गते तेस्रो पत्रको परीक्षाका कार्यक्रमहरु संचालन गरिने बागमती प्रदेश लोक सेवा आयोगका निमित्त सचिव भोला दाहालले जानकारी दिनुभयो ।

छैठौं तह खुल्ला र समावेशी तर्फको अधिकृत छैटौं प्रशासन सेवा, सहायक प्रशासन÷ लेखा÷लेखापाल समूहका दोस्रो चरणको दोस्रो पत्रको परिक्षा आगामी भदौ १७ गते, तेस्रो पत्रको परिक्षा भदौ १८ गते र चौथो पत्रको परिक्षा भदौ १९ र २० गते सञ्चालन गरिने निमित्त सचिव दाहालले बताउनुभयो । उहाँले परीक्षा नेपाल सरकारले तोकेको स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड पालना गरी सञ्चालन हुने बताउनुभएको छ ।