काठमाडौं – कोलम्बिया कोपा अमेरिका फुटबल प्रतियोगितामा तेस्रो बनेको छ । शनिबार बिहान तेस्रो स्थानको लागि भएको खेलमा कोलम्बियाले पेरुलाई ३–२ ले पराजित गरेको हो । कोलम्बियाको जितमा लुइस डियाजले दुई गोल गरे । डियाजले इन्जुरी टाइममा निर्णायक गोल गरेपछि कोलम्बिया विजयी बन्यो ।

सेमिफाइनलमा पराजित भएका दुई टोलीले तेस्रो स्थामा लागि खेलेका हुन् । सेमिफायनलमा पेरु ब्राजिलसँग र कोलम्बिया अर्जेन्टिनासँग पराजित भएको थियो । ब्रासिलियामा भएको खेलमा पहिले अग्रता पेरुले लिएको थयो । यसीमार योतुनले पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पेरुलाई अग्रता दिलाएका थिए ।

तर अग्रता लामो समय टिकेन । दोस्रो हाफको शुरुमै कोलम्बियाले बराबरी गोल फर्कायो । जुवान क्वाड्राडोले ४९औं मिनेटमा बराबरी गोल गरे । लुइस डियाजले ६६औं मिनेटमा गोल गर्दै कोलम्बियालाई अग्रता दिलाए । तर ८२औं मिनेटमा पेरुका जियानलुका लापाडुलाले गोल गर्दै खेल बराबरी गरे । ९० मिनेटसम्म बराबरी भएपनि इन्जुरी टाइमको चौथो मिनेटमा डियाजले निर्णायक गोल गरेपछि कोलम्बिया विजयी भएको हो । अब फाइनल खेल भोली आइतबार बिहान घरेलु टोली ब्राजिल र अर्जेन्टिनाबीच हुनेछ ।