सिमकोट – सिमकोट गाउँपालिकाले पहिलो पटक सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको भत्ता बैंक खातामा जम्मा गरेको छ । उक्त भत्ता बैंक खातामा जम्मा गर्नुपर्ने प्रावधानअनुसार गाउँपालिकाभरिका सबै सेवाग्राहीले बैंक खाता खोलेपछि बैंक खातामा जम्मा गरिएको हो ।

सिमकोट गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अघिकृत उजिर रोकायाका अनुसार ९८ प्रतिशत सामाजिक सुरक्षा भत्ता पाउने सेवाग्राहीको बैंक खाता खोलेर रकम जम्मा गरिएको छ । उहाँले बाँकी २ प्रतिशत सेवाग्राही पनि जिल्लाबाहिर भएका कारण खाता खोल्न नसकिएपछि विकल्प बनाउने जानकारी दिनुभयो ।

पहिले निकासा नआएको र सेवाग्राहीले बैंक खाता खोल्न ढिलो गरेका कारण वार्षिक रूपमा उक्त भत्ता बैंक खातामा पठाएको गाउँपालिकाले जनाएको छ । सेवाग्राही सबैले सांग्रिला विकास बैंकमा खाता सञ्चालन गरेको र गाउँपालिकाबाट भत्ता सीधै उक्त खातामा जम्मा भइसकेको छ । गाउँपालिकाका एमआइस अप्रेटर नरबहादुर जेठाराले बैंक खाता खोल्दा ३६८ जना सेवाग्राहीको संख्या घटेको बताउनुभयो ।

यो कार्यबाट दोहोरिएका व्यक्ति घटेको कारण राज्यलाई समेत आर्थिक फाइदा र हिनामिना हुनबाट रकम बचेको छ । दुई हजार सात सय सेवाग्राहीले बैंकमा खाता खोलेका थिए भने ६ सय ३२ जनाको कर्मचारी गाउँगाउँमा गएर खाता खोल्ने कार्यमा सहजीकरण गरेर खोलिएको थियो । सामाजिक सुरक्षा भत्ता ज्येष्ठ नागरिकले मासिक तीन हजार, पूर्ण अपांगताले तीन हजार, साठीदेखि ६९ वर्षका ज्येष्ठ नागरिक र एकल महिलाले एक हजार ६ सय र बालबालिकाले चार रुपैयाँ पाउँदै आएका छन् ।

गाउँपालिकाबाट वार्षिक पाँच करोड २२ लाख ४६ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ताका लागि बैंकमा गएको गाउँपालिकाले जनाएको छ ।यसमा खार्पुनाथ गाउँपालिकाले आंशिक रूपमा बैंक खातामा भत्ता जम्मा गरेको छ भने नाम्खा गाउँपालिकाले हातैमा बुझाएको छ ।