काठमाडौं – विश्व बैंकले नेपाललाई १० करोड अमेरिकी डलर (करिव १२ अर्ब रुपैयाँ) ऋण सहायता दिने भएको छ । विश्व बैंकको कार्यकारी निर्देशक बोर्डको शुक्रबार बसेको बैठकले सरकारको शिक्षा क्षेत्र विकास कार्यक्रम कार्यान्वयन र स्वास्थ्य क्षेत्रको सार्वजनिक स्रोत व्यवस्थापन प्रणालीमा दक्षता बढाउने प्रयोजनका लागि ५÷५ करोड ऋण सहायता दिने प्रस्ताव अनुमोदन गरेको हो ।

नेपालस्थित विश्व बैंकको कार्यालयका अनुसार यो सहायताले बालबालिकालाई विद्यालय फर्काउन, गुणस्तरीय र उत्तरदायी स्वास्थ्य सेवा प्रदान गर्न सरकारको क्षमता बढाउन भूमिका खेल्ने छ । नेपाल, श्रीलङ्का र माल्दिभ्सको विश्व बैंकका निर्देशक फारिस हदद जर्भोसले नेपालको विद्यालय क्षेत्रको सुदृढीकरणमा सहायता महत्वपूर्ण हुने बताउनुभएको छ ।

स्वास्थ्य क्षेत्रमा आएको सहायताले स्वास्थ्य क्षेत्र रणनीतिको कार्यान्वयनमा सहयोग पुग्ने अपेक्षा लिइएको छ । कोरोना महामारीबाट प्रभावित क्षेत्रलाई माथि उकास्नसमेत यो सहायता महत्वपूर्ण हुने बताइएको छ ।