दमौली – तनहुँको ऋषिङ गाउँपालिकामा पहिरोमा पुरिएर बेपत्ता भएको ११ घण्टापछि शव फेला परेको छ । बिहीबार बिहान ५ बजे पहिरोले पुरिएर बेपत्ता भएका एक पुरुषको शव ११ घण्टापछि फेला परेको हो । ऋषिङ–८, माझकोटका ४० वर्षीय खुमबहादुर थापाको शव ११ घण्टापछि फेला परेको नेपाल रेडक्रस सोसाइटी कोटदरबार उपशाखा सभापति इन्द्रबहादुर आलेले जानकारी दिनुभयो । ठूलो पहिरो भएकाले धेरै बेर खोजी गर्दा पनि भेटिएको थिएन ।

प्रहरी र स्थानीयवासीले बिहानैदेखि खोजी गरे पनि साँझ मात्र शव फेला परेको हो । बिहान साढे ५ बजे घरबाट गोठमा गएका उनलाई माथिबाट पहिरो खस्दा पुरेको थियो । पहिरोले पुरिएर बिहीबार नै ऋषिङ–७, दधिवन निवासी ५२ वर्षीया देवीसरा थापाको मृत्यु भएको छ । उनको शव पनि दिउँसो मात्रै फेला परेको थियो ।

घरबाट भाग्ने क्रममा माथिबाट खसेको पहिरोले पुरिएर उनको मृत्यु भएको थियो । मृतकका श्रीमान् भने भागेर ज्यान बचाउन सफल भएका छन् । घरबाट भाग्न खोज्दा चप्पल हिलोमा गडेको र चप्पल टिप्न खोज्दा पहिरोले पुरिएको स्थानीयवासीले बताएका छन् । यस्तै, खोलाले बगाएर बेपत्ता भएका म्याग्दे गाउँपालिका–४ का मैतबहादुर नेपाली भने फेला पर्न नसकेको प्रहरीले जनाएको छ । –रासस