काठमाडौं – काठमाडौंको ठमेलबाट जुवा र सट्टेबाजी खेलाइरहेका पाँच चिनियाँ नागरिक पक्राउ परेका छन् । ठमेलस्थित जेपी मोडमा चिनियाँ नागरिकले सञ्चालन गरेको छियो छिङ होटेलबाट उनीहरु पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा हि सियावोलोङ, पि छुवानेक्टन, हु वीनविन, हि फुयु र लि छायो टोङ रहेका छन् । उनीहरुको साथबाट एक लाख २३ हजार नेपाली रुपैयाँ बरामद भएको छ ।

यस्तै, जुवातास खेल्न प्रयोग गरेको विद्युतीय टेबल एकथान, जुवातास खेल्न प्रयोग हुने चिनियाँ भाषा माजुङ बताउने प्लास्टिकको गोटी २ सय १० थान, खोलिएको अवस्थामा रहेको रातो रङको तास १ सय ६० पत्तालगायत सामाग्री समेत प्रहरीले बरामद गरेको जनाइएको छ ।