इङ्गल्यान्ड युरोकप २०२० को फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा डेनमार्कलाई २–१ गोल अन्तरले पराजित गर्दै इङ्गल्यान्ड युरोकपको फाइनलमा प्रवेश गरेको हो । इङ्गल्यान्डविरुद्ध डेनमार्कले सुरुआति अग्रता बनाएको थियो । त्यसलाई उल्टाउँदै इङ्गल्यान्ड फाइनलमा प्रवेश गरेको हो ।

खेलको ३०औं मिनेटमा डेनमार्कका मिकेल डाम्सगार्डले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । तर, खेलको ३९औं मिनेटमा डेनमार्कका कप्ताल सिमोनले आत्मघाती गोल गरेका थिए । पहिलो हाफ बराबरीमा सकिएको खेलमा दोस्रो हाफमा कुनै गोल हुन सकेन । त्यसपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १०४औं मिनेटमा इङ्गल्यान्डका कप्तान ह्यारी केनले गोल गर्दै २–१ को अग्रता कायम गरे ।

त्यसपछि खेलमा कुनै गोल हुन नसक्दा इङ्गल्यान्ड डेनमार्कलाई २–१ ले पराजित गर्न सफल रह्यो । जितसँगै सन् १९६६ पछि इङ्गल्यान्ड पहिलो पटक मुख्य प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । युरोकपको फाइनलमा अब इटाली र इङ्गल्यान्डबीच प्रतिश्पर्धा हुने छ । इटाली स्पेनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।