काठमाडौं – युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सर्वसाधारणका लागि आज बिहीबारदेखि साधारण सेयर बिक्री गर्ने भएको छ । कम्पनीको आफ्नो जारी पुँजी २ अर्ब १५ करोड रुपैयाँमध्ये ३० प्रतिशतले हुन आउने ६४ लाख ५० हजार कित्ता साधारण सेयर निष्कासन गर्न लागेको हो ।

उक्त सेयर कित्तामध्ये ५ प्रतिशत अर्थात् ३ लाख २२ हजार ५ सय कित्ता कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशतले नै हुन आउने ३ लाख २२ हजार ५ सय कित्ता सामूहिक लगानी कोषका लागि छुट्याई बाँकी ५८ लाख ५ हजार कित्तामा सर्वसाधारणले खरिद आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

कम्पनीको साधारण सेयरमा सर्वसाधारणले न्यूनतम १० देखि अधिकतम ३२ हजार २ सय ५० कित्ता सेयर खरिदका लागि आवेदन दिन सक्नेछन् । आवेदन नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट र सीडीएससीको मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्वा प्रणालीमार्फत आवेदन दिन सकिनेछ ।

कम्पनीको साधारण सेयर खरिदका लागि छिटोमा असार २८ गतेसम्म आवेदन दिन सकिनेछ । त्यसदिनसम्म माग गरिएभन्दा कम आवेदन परेको खण्डमा भने साउन ७ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने जनाइएको छ । कम्पनीको साधारण सेयरको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकसम्बन्धी कार्य प्रभु क्यापिटल लिमिटेडमार्फत भएको हो ।