काठमाडौं – अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट कार्यान्वयनमा आफु खरो रुपमा प्रस्तुत हुने बताउनुभएको छ । आज बुधबार अर्थ मन्त्रालयमा आयोजित आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट कार्यान्वयनको सन्दर्भमा सम्बन्धित कार्य सम्पादन सम्झौतामा हस्ताक्षर कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो ।

अर्थमन्त्री पौडेलले बजेट कार्यान्वयनका लागि मन्त्रीका हैसियतले गर्नुपर्ने सबै काम र सहयोग गर्ने बताउँदै आवश्यक जस्तो सुकै कदम र प्रयत्न गर्न पनि आफु पछि नहट्ने बताउनुभयो । सबैसँगको समन्वयमा बजेट कार्यान्वयनमा राम्रो नतिजा ल्याउने सकिने भन्दै उहाँले बजेट प्रस्तुत हुन्छ, कार्यान्वयन हुँदैन भन्ने विगतका मानसिकतामा परिवर्तन ल्याउने गरी काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

मन्त्री पौडेलले आगामी वर्षको बजेट कार्यान्वयनका लागि अहिले देखिनै तयारी भइरहेकाले साउनदेखि नै बजेट कार्यान्वयनले गति लिने विश्वास व्यक्त गर्नुभयो । सो अवसरमा उहाँले कुनै पनि प्रकारको कमजोरी हुन नदिने गरी जिम्मेवारी निर्वाह गर्न समेत कर्मचारीहरुलाई निर्देशन दिनुभयो ।