एजेन्सी – चिनियाँ राष्ट्रपति सी जिनपिङले चीनले कहिले पनि संसारमा आधिपत्य, प्रभाव क्षेत्र र विस्तारवाद नखोज्ने बताउनुभएको छ । चीन सधैं विकासशील विश्वको सदस्य रहने उहाँले बताउनुभयो । चिनियाँ कम्युनिस्ट पार्टीले आयोजना गरेको राजनीतिक दलहरुको विश्व सम्मेलनलाई सम्बोधन गर्दै सीले चीन जहिले पनि विकासोन्मुख संसारको एउटा सदस्यको रुपमा रहने बताउनुभएको हो ।

चिनियाँ कम्युनिस्ट पार्टीको एक सयौं वर्षगाँठको उपलक्ष्यमा विश्वका विभिन्न पार्टीका नेताहरुलाई सम्बोधन गर्दै पार्टीका महासचिव सीले यस्तो बताउनुभएको हो । भर्चुअल रुपमा आयोजित सम्मेलनमा विश्वका ५ सयभन्दा धेरै राजनीतिक पार्टीका नेताहरुको सहभागिता थियो । वर्तमान विश्वका चुनौतीहरु सामना गर्नका लागि बहुराष्ट्रियता र सहकार्यमा जोड दिइनुपर्ने उहाँले बताउनुभयो । विकासका लागि पनि यस्तो सहकार्य जरुरी रहेको बताउँदै सीले ‘विकास केवल केहीले लाभ उठाउने कुरा होइन । र, अन्य देशको विकास रोक्ने कुरा कहिल्यै स्वागत योग्य हुन्न,’ भन्नुभयो ।

उहाँले विकास र सहकार्यमा सबै देशलाई माथि उठाउन जरुरी रहेको बताउनुभएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले विकासको फल पनि सबैले बाँडेर खाने बताउनुभयो । विश्वबाट गरिबी न्युनिकरण गर्नका लागि चिनियाँ समाधान र चिनियाँ सामर्थ्य लगाउन चिनियाँ कम्युनिस्ट पार्टी इच्छुक रहेको उहाँको भनाइ छ । उहाँले कोभिड १९ विरुद्धको लडाइँमा अन्तर्राष्ट्रिय सहकार्य गर्नका लागि चीनले कुनै कसर बाँकी नराख्ने जिकिर गर्नुभयो ।