रियो द जिनेरियोः ब्राजिलमा जारी सोह्रौं संस्करणको कोपा अमेरिका फुटबलको अन्तर्गत आज मङ्गलबार भएको खेलमा साविक विजेता ब्राजिल फाइनलमा प्रवेश गरेको छ । नेपाली समयअनुसार आज बिहान पौने पाँच बजे सुरु भएको पहिलो सेमिफाइनल खेलमा ब्राजिलले पेरुलाई १–० गोलको सङ्घर्षपूर्ण जित निकाल्दै फाइनलमा प्रवेश गरेको हो । घरेलु टोली ब्राजिलले पेरुलाई पहिलो हाफको ३४ औं मिनेटमा गोलगर्दै खेलमा अग्रता लिएको थियो । प्रतिस्पर्धात्मक खेलमा पेरुमाथि दवाव राखेको ब्राजिलले केही अवसर सिर्जना गरे पनि पहिलो हाफमा अर्को गोल थप्न सकेन । निल्टन सान्तोस रङ्गशालामा भएको सेमिफानल खेलमा पेरुले दोस्रो हाफमा ब्राजिललाई केही दवावमा राख्दै केही राम्रा अवसर सिर्जना गरे पनि गोल भने गर्न सकेन । त्यसो त ब्राजिलले पनि खासै अवसरहरु सिर्जन गर्न सकेन ।

क्वाटरफाइनलमा चिलीसँग सङ्घर्षपूर्ण १–० को जित निकालेर सेमिफाइनलमा पुगेको थियो । पेरुले भने पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो । पछिल्लो पटक २०१९ मा भएको कोपा अमेरिकामा ब्राजिल र पेरु नै फाइनलमा भिडेका थिए । घरेलु मैदानमै भएको उक्त प्रतियोगितामा ब्राजिलले पेरुलाई हराउँदै उपाधि जितेको थियो । दुई वर्षपछि ब्राजिलले सेमिफाइनलमा पेरुसँग भिड्यो । पेरु अघिल्लो संस्करणको बदला लिन चाहन्थ्यो तर यो पटक पनि पेरु ब्राजिलको होम ग्राउण्डमा ब्राजिलीयन टिमसँग पुनः पराजित हुन पुग्यो ।

समूह ‘बी’ मा रहेका यी दुवै टिम समुह चरणमा भिड्दा पेरु ब्राजिलले पेरुलाई ४–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो । ब्राजिल उपाधि दाबेदार टोली हो । रुपमा छ भने पेरु अन्डरडगको रुपमा छ । सन् २०११ र २०१५ मा क्वाटरफाइनलबाटे बाहिरिएको ब्राजिलले २०१६ मा समूह चरण समेत पार गर्न सकेको थियो । सन् २०१९ मा भएको पन्ध्रौं संस्करणको कोपा अमेरिकी फुटबलको च्याम्पियन ब्राजिल यसपटक पनि घरेलु मैदानमा पुनः उपाधि चुम्ने होडमा छ । उसले यस अघि ९ पटकसम्म कोपा अमेरिकी फुटबलको उपाधि जितिसकेको छ ।

ब्राजिलले ९ पटक कोपा अमेरिकाको उपाधि जितेको छ । जसमा ५ पटक आयोजकको रुपमा जितेको छ । ब्राजिल आफैं आयोजक हुँदा उपाधि माथि कब्जा जमाउँदै आएको छ । उसले सन् १९९७ र १९९९ तथा २००४ र २००६ मा लगातार दुई पटक उपाधि जितेको थियो । यस पटक पनि ब्राजिल सन् २०१९ को जितलाई पुनरावृत्ति गर्दै यसपटक पनि उपाधि रक्षा गर्न चाहन्छ ।

यता दुई पटकको च्याम्पियन पेरुले भने सन् १९७५ यता उपाधि जित्न सकेको छैन । २०१९ को फाइनलमा हारेको पेरु २०११ र २०१५ मा तेस्रो भएको थियो । ब्राजिल र पेरुबीच अहिलेसम्म कुल ४९ खेल हुँदा ब्राजिलले ३५ खेल जितेको छ । पेरुले ५ खेल मात्र जित्दा ९ खेल बराबरीमा सकिएको थियो ।

अब ब्राजिलले भोलि बुधबार बिहान हुने अर्जेन्टिना र कोलम्बियाबीच हुने सेमिफाइनलको विजेतासँग फाइनलमा उपाधिको लागि भिड्ने छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना पनि कोपा अमेरिकी फुटबलको अम्बल टिम हो र उपाधि दावेदार टिम पनि हो । उसले भोलि बिहान हुने सेमिफाइनलमा कोलम्बियालाई हराउन सके फाइनलमा ब्राजिलसँग भेट पक्का गर्ने छ । कोलम्बिया पनि सशक्त टिम मानिन्छ ।