काठमाडौं – दोलखा जिल्लामा निर्माणको अन्तिम चरणमा पुगेको बहुप्रतिक्षित र अत्यन्तै महत्वाकांक्षी मानिएको राष्ट्रिय गौरवको जलविद्युत आयोजना माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले आजबाट विद्युत उत्पादन सुरु गर्दैछ । आज परीक्षणको रुपमा बिजुली उत्पादन सुरु गर्न लागिएको हो ।
आज सोमबार अपरान्ह चार बजे प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले उक्त आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोड्न भर्चुअल माध्यमबाट उद्घाटन गर्दै हुनुहुन्छ । अन अफ द रिभर अवधारणामा निर्माण भएको माथिल्लो तामाकोशीको विद्युत् उत्पादन क्षमता ४ सय ५६ मेगावाट रहेको छ । तर आज ७६ मेगावाट क्षमताको पहिलो युनिटबाट विद्युत् उत्पादन गरेरे प्रधानमन्त्री ओलीले उद्घाटन गर्न लाग्नु भएको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाका प्रमुख विज्ञान श्रेष्ठले बताउनु भयोे ।

आयोजनाले करिब डेढ महिनासम्मको प्राविधिक परीक्षण पश्च्यात् आज विद्युतको परीक्षण उत्पादन गर्न लागिएको हो । माथिल्लो तामाकोशी आयोजनाबाट उत्पादित बिजुली विद्युतगृह रहेको गोगरबाट न्यू खिम्ती सबस्टेशन हुँदै ढल्केबर पुग्नेछ । आयोजनाको विद्युत् गृह गोंगरदेखि खिम्तीसम्म बिजुली ज्याउने प्रसारण लाइन तथा सबस्टेसनको काम पुरा भैसकेको छ । ढल्केबर सबस्टेशनबाट राष्ट्रिय प्रसारण प्रणालीमा माथिल्लो तामाकोशीबाट उत्पादित बिजुली जोडिने छ ।

आयोजनाले आइतबार मात्रै गोगरदेखि खिम्तीसम्मको कूल ४७.२ किलोमिटर लामो २२० केभी क्षमताको प्रसारण लाइनमा बिजुली पठाएर चार्ज गरेको थियो । आयोजनाले शनिबार ढल्केबरदेखि न्यू खिम्ती सवस्टेशनबीचको लाइन चार्ज गरेको थियो ।

स्वदेशी लगानीमा निर्मित नेपालकै पहिलो ठूलो आयोजना हो माथिल्लो तामाकोशी जलविद्युत आयोजना । कूल ४५६ मेगावाट विद्युत् उत्पादन क्षमताको सो आयोजनाको पहिलो युनिटबाट आजदेखि ७६ मेगावाट बिजुली उत्पादन गर्न लागेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपानेले बताउनु भएको छ । असार मसान्तभित्रै आयोजनाको दोस्रो युनिटबाट थप ७६ मेगावाट बिजुली उत्पादन गर्ने तयारी गरिएको प्रवक्ता न्यौपानेले जानकारी दिनुभयो । यस विद्युत् आयोजनामा ७६ मेगावाटका ६ वटा युनिट छन् । आगामी दुई महिना अर्थात् भदौ महिनाभित्रै सबै युनिटबाट पूर्ण क्षमतामा बिजुली उत्पादन गर्ने लक्ष्य रहेको प्रवक्ताको भनाइ छ ।

देशकै सस्तो बिजुली उत्पादन गर्ने आयोजनाको रुपमा परिभाषित गरिएको यो आयोजना रु. ३५ अर्बमा सम्पन्न हुने भनिएता पनि आयोजना सम्पन्न हुँदासम्म करिब ८४ अर्ब रुपैयाँ लगानी भएको प्रारम्भिक अनुमान छ । जसमध्ये ५२ अर्ब रुपैयाँ आयोजनाको खर्च र बाँकी ३२ अर्ब रुपैयाँ निर्माण अवधिको ब्याज पुगेको नेपाल विद्युत प्राधिकरणको भनाइ छ ।

आयोजना निर्माण थालिएको पाँच वर्षमा सम्पन्न गर्नेगरी २०६७ साल भदौ १७ गतेबाट मुख्य संरचनाको निर्माण सुरु भएकोमा झण्डै ११ वर्षमा आयोजना सम्पन्न हुनलागेको । २०७२ सालमा आएको विनासकारी भूकम्प र पटक पटक आएको पराकम्पन, त्यसपछि बाढी पहिरो, गत वर्षदेखि महामारीको रुपमा देखापरेको कोरोना भाइरसको सङ्क्रमण जस्ता कारणले आयोजना निर्माणको काममा ढिलाइ भएको भनाइ छ ।