काबुल — तालिबानले अफगानिस्तान रहेका सबै विदेशी सेना आगामी सेप्टेम्बर महिनासम्ममा नहटे त्यसवातप गम्भीर परिणामको सामना गर्नु पर्ने चेतावनी दिएको छ । अफगानिस्तानस्थित काबुल अन्तर्राष्ट्रिय विमानस्थलमा कूटनीतिक मिसनको सुरक्षार्थ एकहजार सैनिक खटिरहने समाचार सार्वजनिक तालिबानको यस्तो चेतावनी आएको हो ।
अन्तराष्ट्रिय समाचार संस्था बीबीसीसँगको कुराकानीमा तालिबानी नेताले भनेका छन् ‘तोकिएको समय सीमाभन्दा पछि बाहिरिने वा समय सीमापछि पनि अफगानिस्तानमा रहने विदेशी सैनिकहरुले जोखिम मोल्नु पर्ने छ ।’


नेटोको विगत २० वर्षदेखि अफगानिस्तानमा जारी रहेको सैन्य अभियानमा अन्त्य हुने चरणमा छ । अमेरिकी तथा नेटो सैनिक आउँदो सेप्टेम्बर (११) सम्ममा अफगानिस्तानबाट बाहिरिँदै छन् । विदेशी सैनिकको अन्तिम समूह बाहिरिने क्रममा रहँदा अफगानिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् । तालिबान बिद्रोहीले आफ्नो नियन्त्रणमा लिएका क्षेत्रहरु बिस्तारको क्रम निरन्तर बनाएको छ । अफगानिस्तामा रहेका विदेशी सेनाहरु बाहिरिने क्रम रहेको र अब अफगानी सेनाले नै देशको सुरक्षाको जिम्मेवारी लिन लागेको छ ।


विदेशी सेनाको साथ लिंदै आएको अफगानी सेनाले देशको शान्ति सुरक्षाको जिम्मा कसरी सम्हाल्छ भन्ने कुराप्रति एक खालको चासो बढ्न थालेको छ । बीबीसीसँग कुरा गर्दै तालिबानका प्रवक्ता शुहाइल शहीनले काबुल सैनिकलाई आफ्नो नियन्त्रणमा लिने आफूहरुको कुनै नीति नरहेको बताएका छन् । तर फिर्ति प्रक्रिया समाप्त भएपछि कुनै पनि विदेशी सेना तथा सैनिक कन्ट्रयाक्टर रहनु नहुने तालिबानका प्रवक्ता शहीनले भनेका छन् ।