काठमाडौं – नागरिक लगानी कोषको २६ औं वार्षिक साधारणभा सम्पन्न भएको छ । कोषले आर्थिक वर्ष २०७६।७७ को कर पछिको खुद नाफा ६१ करोड ९६ लाख ७० हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । चालु आ.व.को जेठ मसान्तसम्म एक खर्ब ७२ अर्ब रुपैयाँ सङ्कलन गरेको छ भने सोही अवधिमा एक खर्ब ७१ अर्ब ९७ करोड रुपैयाँ लगानी गरेको कोषले जनाएको छ । चालु आर्थिक वर्षमा कोषको पूँजी बृद्धि भई कारोबारमा समेत बृद्धि भएको जनाएको छ ।


विभिन्न शीर्षकका कोषहरु, हिसाब योजना तथा पुँजी बजार सम्बन्धी सेवाहरु समेत निरन्तर रुपमा सञ्चालन गर्दै आएको नागरिक लगानी कोषले खुद मुनाफा मध्ये बाँडफाँड योग्य रकम ५५ करोड ३६ लाख ७२ हजार रुपैयाँ रहेको छ । उक्त रकमबाट नागरिक लगानी कोष ऐन, २०४७ को दफा ४० र ४१ मा भएको व्यवस्था अनुसार १२ करोड ३९ लाख ३४ हजार रुपैयाँ साधारण जगेडामा राखी बाँकी रकम मध्येबाट आ.व. २०७६÷७७ मा ९ प्रतिशत बोनस शेयर र ८.८९४७ प्रतिशत नगद लाभांश वितरण गरेको कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा रामचन्द्र भट्टराईले बताउनु भएको छ ।

यस बर्षमा कोषको कारोबार विस्तार गर्न स्वरोजगार र वैदेशिक रोजगारमा रहेका नागरिकलाई आबद्ध गराउने उद्वेश्यले नागरिक पेन्सन योजना कार्यक्रम शुरु गरिएको छ । देशको पुँजीबजारको विकास, विस्तार र स्थायित्व प्रदान गर्ने उद्वेश्यले कोषको अग्रसरतामा नागरिक स्टक डिलर कम्पनी स्थापना गरी कारोबार शुरु गरिएको कोषले जनाएको छ ।


कोषका कार्यकारी निर्देशक रमण नेपालका अनुसार कोषद्वारा सञ्चालित सम्पूर्ण कार्यक्रमहरुमा ‘नागरिक लगानी कोष वेब बेस सफ्टवयर पूर्ण रुपमा लागू गरिएको छ । साथै नेपाल सरकारको सीजीएस सफ्टवेयरमा डाटा आदान प्रदान गर्ने कार्य सम्पन्न भएको छ । नयाँ सफ्टवेयरको प्रयोगको लागि आवश्यक उपकरणहरु खरिद गरी कोषको प्रणालीमा जडान गरिसकिएको छ ।