ब्राजिल– कोपा अमेरिका फुलबल अन्तर्गत आज बिहान भएको क्वाटरफाइनलमा उरुग्वेमाथि जित निकाल्दै कोलम्बिया कोपा अमेरिकाको अन्तिम चार अर्थात् सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणमा खेलमा खासै जम्न नसकेकोे कोलम्बियाले उरुग्वेलाई पेनाल्टी सुटमा जित निकाल्दै सेमिफाइनलको यात्रा तय गरेको हो । नेपाली समय अनुसार आज आइतबार बिहान भएको क्वाटरफाइनलको निर्धारित तथा थप गरिएको समयमा दुवै तर्फबाट गोल हुन नसकेपछि खेलको जित हार छुट्याउन खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा कोलम्बियाका चार खेलाडीले लगातार गोल गर्दा उरुग्वेका दुई खेलाडीको प्रहार कोलम्बियाका गोलरक्षकले विफल बनाइदिए पछि उरुग्वे क्वाटरफाइनलबाटै बाहिरियो । कोलम्बियाले अब सेमिफाइनलमा अहिले नेपाली समय अनुसार बिहान पौने सात बजे हुने अर्जेन्टिना र इक्वेडरबीचको क्वाटरफाइनलको विजेतासँग भिड्ने छ ।

लुइस स्वारेज एडिन्सन काभानीजस्ता स्टार खेलाडी रहेको उरुग्वे अब प्रतियोगिताबाट बाहिरिएको छ । कोपा अमेरिका फुटबलको यो संस्करणमा अन्तिम चारको यात्रामा ब्राजिल, पेरु र कोलम्बियाले स्थान पक्का गरिसकेका छन् भने क्वाटर फाइनलको अन्तिम खेलमा अर्जेन्टिना या इक्वेडरमध्ये जसले बाजिमार्छ त्यो टिम सेमिफाइनलमा प्रतिस्पर्धाको लागि छानिने छ । अर्जेन्टिना र इक्वेडरबीच खेल सुरु भैसकेको छ ।