काठमाडौं – सत्तारुढ दल नेकपा एमाले केपी ओली समूहको केन्द्रीय समिति बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटरमा आज शनिबार दिउँसो ३ बजे बस्ने बैठकमा पार्टीको विवाद समाधान, एकताका विषयदेखि पार्टीको महाधिवेशन, विधान संसोधान जस्ता विषयमा छलफल हुने बताइएको छ । उक्त बैठक अवैधानिक भन्दै वरिष्ठ नेताद्वय खनाल–नेपालसमूह सहभागी नहुने नेता डा।भीम रावलले बताउनु भएको छ ।

एमाले पार्टी कार्यालय सचित शेरबहादुर तामाङका अनुसार प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको शनिबारको बैठकमा महाधिवेशनको नयाँ मिति तोक्ने, पार्टी विधान संशोधन गर्न विधान सम्मेलन तोक्ने लगायत विषयमा छलफल हुने छ । यसअघि हिजो शुक्रबार बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भएको बैठकले पार्टीका असन्तुष्ट नेपाल खेमालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने पक्षमा गरेको हस्ताक्षर फिर्तालिन दुई दिने अल्टिमेटम दिएको थियो । हस्ताक्षर फिर्ता नलिए एकताको आधार नबन्ने पनि प्रधानमन्त्री ओलीले घोषणा गर्नुभएको छ । अन्तत एमाले फुट्ने सम्भावना बलियो बनेको छ । हिजै खनाल–नेपाल समूहका घनश्याम भूषाल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्टले पार्टी एकताकै लागि बैठक स्थगित गर्न अनुरोध गरेता पनि ओली बैठक स्थगित गर्न मान्नु भएन । बैठक आज पनि बस्दैछ ।