फिफा वरियतामा विश्व नम्बर एकमा रहेको बेल्जियम युरोकप फुटबल प्रतियोगिताको क्वाटरफाइनलबाटै बाहिरिएको छ । राती भएको खेलमा इटालीले बेल्जियममाथि २–१ गोल जित निकाल्दै युरोकपको सेमिफाइनल यात्रा तय गरेको छ ।

शुक्रबार राति भएको क्वाटरफाइनलमा बेल्जियममाथि इटालीले २–१ को जित दर्ता गरेको हो । खेलको ३१ औँ मिनेटमा इटालीका लागि निकोलो बारेलाले गोल गर्दै अग्रता दिलाएका थिएभने मध्यान्तर हुन केही समय मात्रै बाँकी हुँदा ४४ औँ मिनेटमा लोरेन्सो इन्सिग्नेले गोल गर्र्दै इटलीले आफ्नो अग्रता दोब्बर बनाएको थियो ।

निकै रोमान्चक र प्रतिस्पर्धात्मक खेलको पहिलो हाफको इन्जुरी समयमा बेल्जियमले गोलको खाता गर्ने अवसर पायो पेनाल्टी सुटआउट मार्फत्े । जिओभानी डी लोरेन्सोले जेरोमी डूकुलाई फउल गरेपछि पाएको पेनाल्टीमा बेल्जियमका लागि रामेलु लुकाकुले एक गोल फर्काए । तर उसकोलागि यो गोल सान्त्वना मात्रै रह्यो ।

खेलको दोस्रो हाफमा दुवै टिमले गोल गर्ने अथक प्रयाय गर्दा पनि कुनै टिमबाट पनि गोल हुन सकेन । बेल्जियमलाई २–१ गोलले पछि पार्दै इटालीले अन्तिम चारको यात्रा तय गर्न सफल भयो । लगातार १३ खेलमा जित निकालेको इटाली पछिल्ला ३२ खेलमा अपराजित छ । अब इटालीले सेमिफाइनल स्पेनसँग प्रतिस्पर्धा गर्ने छ । नेपाली समयअनुसार शुत्रबार राती पौने दश बजे भएको खेलमा स्पेनले टाइब्रेकरमा स्वीट्जरल्याण्डलाई हराएर युरोकपको सेमिफाइनलमा पुगेको छ ।