काठमाडौं – विश्व स्वास्थ्य सङ्गठनले कोभिड—१९ को सङ्क्रमणका कारण १ लाख १५ हजार स्वास्थ्यकर्मीको ज्यान गएको बताएको छ । नियमित मिडिया ब्रिफिङमा विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा.टेड्रोस अधानोमले १८ महिनादेखि कोरोना महामारीमा अग्रपङ्क्तिमा खटिरहेका विश्वभर १ लाख १५ हजार स्वास्थ्यकर्मीको मृत्यु भएको बताउनुभयो ।

उहाँले सङ्क्रमितको पहिचान, उपचार नियन्त्रण र व्यवस्थापनमा खटिएका मध्ये हाल १० लाख कोरोना सङ्क्रमित रहेको समेत बताउनुभयो । २०२१ लाई स्वास्थ्य तथा स्याहारकर्मीको अन्तर्राष्ट्रिय वर्षका रूपमा मनाउँदा लैङ्गिक असमानताको मुद्दालाई प्राथमिकताका साथ राख्नुपर्ने उहाँको भनाइ थियो ।

‘विश्वभर रहेका कुल स्वास्थ्यकर्मीहरूको ७० प्रतिशत हिस्सा महिला स्वास्थ्यकर्मी छन्, जसमा करिब ९० प्रतिशत नर्स तथा मिडवाइफ र ५० प्रतिशत फिजिसियन रहेका छन्,’ विश्व स्वास्थ्य सङ्गठन प्रमुख डा.टेड्रोसका अनुसार, ‘विश्व स्वास्थ्य र हेरचाह महिला स्वास्थ्यकर्मीकै भरमा छ, महिला स्वास्थ्यकर्मीलाई हामीले कति सम्मान र महत्त्व दियौं ।’ महिला स्वास्थ्यकर्मीलाई समान सुविधा र महत्त्व दिनुपर्ने भन्दै उनीहरूमाथि हुने भेदभाव र हिंसालाई रोक्न सबै एकजुट हुनुपर्नेमा उहाँको जोड थियो ।